गोरखाको घ्याल्चोकस्थित सिउरेनीटारमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको कार्यालयमा प्रभावित क्षेत्रका बासिन्दाले ताला लगाउन खोजेपछि आज झडप भएको हो ।
दिउँसो ३ बजेपछि करिब २० मिनेट झडप भएको हो । प्रभावितले कार्यालयमा ताला लगाउने प्रयास गरेपछि प्रहरीले रोकेको थियो । कार्यालयको ढोकामा ताला लगाउन पुगेका सरोकार समितिको टोलीलाई प्रहरीले रोकेपछि कार्यालय परिसरमा रहेका प्रभावितले ढुङ्गा प्रहार गरी कार्यालय तोडफोड गरेका हुन् ।
कार्यालयका सिसा फुटेपछि स्थितिलाई नियन्त्रणमा लिन १५÷२० राउण्ड अश्रुग्यास प्रहार गरिएको घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
केही स्थानीयवासी सामान्य घाइते भएको बताइएको छ । सिउरेनीटार क्षेत्रमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । घ्याल्चोक, दर्बुङ, फुजेललगायत विभिन्न १५ गाविसका प्रभावित जनता मुआब्जा वृद्धिको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । पूर्व निर्धारित कार्यक्रम अनुसार उनीहरु कार्यालयमा ताला लगाउन सिउरेनीटार पुगेका थिए ।