कञ्चनपुरमा एचआइभी एड्सको सङ्क्रमणबाट हालसम्म १३१ जनाको मृत्यु भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा उक्त रोगको सङ्क्रमण पत्ता लगाउन सुरु गरिएपछि हालसम्म १३१ जनाको मृत्यु हुनाका साथै हाल ४६८ महिला तथा पुरुष सङ्क्रमित रहेको कार्यालयका सूचना अधिकृत हेमराज जोशीले जानकारी दिए ।
“सचेतनाका कारण पहिलेको जस्तो रोग लुकाउने गरेको घटना छैन् ।” उहाँले भन्नुभयो– “पछिल्लो समय सङ्क्रमण घट्दो गतिमा छ ।” हाल सङ्क्रमितमध्ये २१९ महिला, २४८ जना पुरुष र एक जना तेस्रोलिङ्गी रहेका छन् ।
त्यसैगरी चार वर्षमुनिका १४ र पाँचदेखि नौ वर्षसम्मका २६ जना गरी ४० बालबालिका पनि एचआइभीको सङ्क्रमणमा रहेको कार्यालयले जनाएको छ ।
सङ्क्रमित बालबालिकाको विशेष स्याहारका लागि कार्यालयले विभिन्न सहयोग गर्दै आएको छ भने सङ्क्रमितलाई जानकारी दिलाउन तीन स्थानमा परामर्श केन्द्र समेत सञ्चालनमा ल्याइएको छ ।