भूकम्प र नाकाबन्दीको मारमा परेर चरम अभाव खेपेका सर्वसाधारण अहिले नुन आपूर्ति रोकिएको हल्लाले थप त्रासमा परेको पाइएको छ । भारतले कम दिएको र छिट्टै नुन आपूर्ति रोकिने हल्ला चालाएर केही व्यापारीले नुनमा समेत कालो बजारी गरेपछि सर्वसाधारण नागरिक त्रास र अन्योलमा परेका पाइएको हो । पोखरा –४ गैह्रापाटनका तुलसीप्रसाद लामिछानेले स्थानीय किराना पसलमा नुन किन्न जाँदा नुन अभाव रहेको भन्दै पसलेले २५ रुपैयाँ पर्ने भनेपछि १८ पर्ने नुनको पोकालाई २५ रुपैयाँ तिरेकोे बताए । ‘ग्राहकलाई अल्नो खुवाउन भएन, त्यही भएपनि किन्नै प¥यो भन्दै ३ पोका नुन किनेर ल्याएँ, लामिछाने खाजा घर सञ्चालन गरेका उनले भने, ‘ अर्काे पसलमा सोध्दा नपाएपछि महंगो हाल्नै प¥यो ।’
लामिछानेले नुन अभाव रहेको र महंगोमा आफूले किनेको सुनाएपछि छिमेकीहरु नजिकको पसलमा पुगे । पसलेले अरुबेला भन्दा नुन अत्यधिक बिक्री भएको र अघिल्लो दिन ल्याएको बोरा सकिएपछि अर्को बोरा मगाएर ल्याउँदै गरेको सुनाए । नुन बढी नै बिक्री भएकोमा अचम्म मानेका उनले नुन अभाव भइरहेको भने केही थाहा नपाएको बताए ।
अहिले सर्वसाधारण उपभोक्ता नुन अभाव हुने भन्दै २—४ पोका पाएको ठाउँमा महंगै तिरेर पनि खरिद गर्ने गरेका छन् । मालेपाटनका राजु तिमिल्सिनाले २० रुपैयाँका दरले नुन किनेर ल्याएको सुनाए । ‘अभाव भन्ने सुनियो, नुन भन्ने कुरा नभई पनि भएन, २ रुपैयाँ के हेर्ने, उनले भने, ‘४ पोका ल्याएको छु, यति भएपछि दुई तीन महिनालाई भइहाल्छ ।’
अभावका हल्ला चलेका कारण सर्बसाधारणले स्टक राख्ने गर्दा माग बढता भएको शाल्ट ट्रेडिङ पोखराका निमित्त प्रमुख सुरेसराज राजभण्डारीले बताए । आपूतिमा केहि असहज भएको सत्य भएपनि अभाब नभएको उनल दाबी गरे । सामान्य अवस्थामा दनिक ५० केजीका ६ सय बोरा नुन आपूति हुने गरेकामा अहिल ५ सय बोरा मात्र दिएको उनले जानकारी दिए । भारतबाट आउने आयोडिन युक्त धुलो नुन प्याकिङ गर्ने नपाउँदा बजारमा मागजति पठाउन नसकिएका उनले प्रष्ट्याए ।
जिल्ला आपूर्ति समितिका अध्यक्ष समेत रहेका कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले आवश्यक मात्रामा नून पाइने र कालाबजारी गरेको पाइएमा तुरुन्त कारबाही हुन बताए । यस्तो बेला विभिन्न अफवाह फैलाउने र उपभाक्ता ठग्ने प्रबृति मौलाउने बताउदै उनले कसैले तोकिएको भन्दा बढी लिएमा जिल्ला प्रशासनमा खबर गर्न समेत उपभोक्तालाई आग्रह गरे ।