नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले राजधानी उपत्यकाभित्रको एउटा जिल्लामा पहिलो पटक जनसरकार घोषणा गरेको छ । जनपरिषदको नामबाट विप्लव माओवादीले सरकारलाई चुनौती दिँदै जनसरकार घोषणा गरेको हो ।
भक्तपुर जिल्लाको गोप्यस्थानमा आज (बुधबार) विप्लव माओवादीले जनसरकार घोषणा गरेको हो । जनसरकार घोषणाको कार्यक्रमलाई विप्लव माओवादीले अत्यन्तै गोप्य राखेको छ ।
जनसरकार प्रमुखमा कृष्णराम खड्का, उपप्रमुखमा केदार दुवाल श्रेष्ठ, सभामुखमा विवेक विक र उपसभामुखमा राजाराम लागेलाई चयन गरिएको नेकपा माओवादी भक्तपुरका इञ्चार्ज तिलक मल्ल क्षितिले जानकारी दिनुभयो । नौ सदस्यीय जनसरकारले जनताका काम गर्ने इञ्चार्ज मल्लले जानकारी दिनुभयो । जनसरकार प्रमुख कृष्णराम खड्का पूर्व बक्सिङ खेलाडी पनि हुन् । खड्का भक्तपुरको चागुनारायण निवासी हुन् ।
जनपरिषदका केन्द्रीय संयोजक सन्तोष बुढा मगरको प्रमुख आतिथ्यमा नेकपा माओवादीले भक्तपुरमा जनसरकार घोषणा गरेको हो ।
नेकपा माओवादीका केन्द्रीय सदस्य उत्तम विष्ट सहभागी सो कार्यक्रममा संयोजक सन्तोष बुढामगरले मुलुकमा व्याप्त भ्रष्टाचार, अनियमितता, कालोबजारीविरुद्ध काम गर्नुपर्ने बताउनुभएको थियो ।
नेकपा माओवादीका भक्तपुर ईञ्चार्ज तिलक मल्ल ‘क्षितिज’ले जनपरिषद् वा जनसरकार घोषणाको निर्णय समानान्तर सरकारभन्दा पनि जनताको न्याय र जनताको विकासका लागि आवाज उठाउने तथा व्यवस्थित गर्ने कुरा रहेको बताउनुभयो । उहाँले जनपरिषद घोषणाले सबै शक्तिहरुलाई समेटेर संघर्षको सधानको भूमिका खेल्ने बताउनुभयो ।
‘राज्यलाई चुनौतीको कुराभन्दा पनि यस्तो नगरेमा उत्पीडनमा परेका जनता, राष्ट्रवादी शक्तिहरुको न्याय सम्पादन र विकासको कुराको नेतृत्व गर्न सम्भव हुँदैन’, भक्तपुर ईञ्चार्ज मल्लले भन्नुभयो ।
भक्तपुरमा घोषणा भएको जनपरिषदले भूमिगत क्रियाकलाप नगर्ने मल्लले बताउनुभयो । ‘जनपरिषदले भूमिगत रुपमा काम गर्दैन’, उहाँले भन्नुभयो, ‘यसले जनताका बीचमा रहेर काम गर्ने गर्छ । जनताका काम गर्न राज्यलाई दवाव दिन जनपरिषद घोषणा गरिएको हो ।’
विप्लव माओवादीले जनपरिषदका नाममा जनसरकार घोषणा गर्दै आएको छ । यसलाई उसले अधिकांश जिल्लाहरुमा घोषणा गरिसकेको छ ।
जनसरकार गठन किन ?
राज्यलाई चुनौतिको कुरा भन्दापनि यसो नगरेमा उत्पीडित जनता, राष्ट्रवादी शक्तिहरुको न्याय सम्पादन र विकासको कुराको नेतृत्व गर्न सम्भव हुँदैन् । अर्काे कुरा यो जनसरकार खुला रहन्छ । भुमिगत हुँदैन् । जनताकै बीचमा रहेर काम गर्छ । राज्यलाई दबाब दिने हो र विकृति विसंगती र कालोबजारी भ्रष्टचारकाविरुद्ध संघर्ष गर्ने हो ।समानान्तर सरकारभन्दा पनि जनताको न्याय र जनताको विकासका लागि आवाज उठाउने कुरो हो । व्यवस्थित गर्ने कुरा हो । यसले सबै शक्तिहरुलाई समेटेर संघर्षको साधनको भुमिका खेल्छ ।