कूटनीतिक मामिलाका जानकार तथा विज्ञहरूले नेपाल–चीन र नेपाल–भारतबीचको सम्बन्ध विस्तारमा स्थायी सडक सञ्जाल अपरिहार्य रहेको बताएका छन् । निकै चर्चामा रहेको त्रिपक्षीय सहकार्यका लागि यो सञ्जाल आवश्यक रहेको उनीहरूको भनाइ छ ।
आफ्नोतर्फको सडक सञ्जाल र योजनाविहीनताले त्रिपक्षीय सहकार्य हुन नसक्ने भन्दै उनीहरूले ‘अब छिमेकी कार्ड होइन, नेपाल कार्ड खेलेर अघि बढ्न सक्नुपर्ने र त्यसका लागि योजना र उद्देश्य लिनुपर्ने’ बताए ।
दुवै छिमेकीको चासोलाई ध्यान दिएर एकअर्कामा असर नपर्ने गरी उक्त कार्य अघि बढाउनुपर्नेमा उनीहरूले जोड दिए । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) का कार्यकारी निर्देशक प्राध्यापक डा. पन्नाकाजी अमात्यले नेपाल–चीन सम्बन्ध तथा नेपाल–भारतबीचमा अर्को छिमेकीलाई प्रस्तुत गर्न नहुने बताए । नेपाल जस्तो भौगोलिक राजनीतिक अवस्था भएको मुलुकले कूटनीतिक गाम्भीर्यलाई ध्यानमा राखेर काम गर्नुपर्नेमा उनले जोड दिए ।
नेपाल–चीन कूटनीतिक दौत्य सम्बन्धको ६० औं वर्षगाँठको अवसरमा आईएफएले तयार गरेको स्मारिका सार्वजनिक गर्नेक्रममा अमात्यले उक्त अवधारणा व्यक्त गरेका हुन् । उक्त पुस्तक सन् २०१६ को आरम्भमा नै तयार गरिएको भए पनि अहिले सार्वजनिक गरिएको हो ।
नेपाल–चीन सम्बन्धलाई विभिन्न क्षेत्रबाट फरकफरक विचारधारा सँगालेर निकालिएको उक्त पुस्तकले नेपाल–चीन सम्बन्ध विगत वर्तमान र आगामी दिनलाई समेत मार्गनिर्देश गर्ने प्रकारको छ । अघिल्ला प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा भएको सम्झौताअगावै तयार गरेको भए पनि त्यस्तो सम्झौता हुनुपर्ने भन्दै त्यसमा एकतर्फी भएरमात्र नेपालको विकास हुन नसक्नेसमेत उल्लेख छ ।
कार्यक्रममा पूर्वराजदूतहरू सुन्दरनाथ भट्टराई र हिरण्यलाल श्रेष्ठले नेपालको विकासका लागि छिमेकी कार्ड नभई नेपाल कार्ड खेल्नुपर्ने बताए । हीनभावले होइन, आफ्नो विचारलाई बढावा दिएर आफ्नो उद्देश्य स्पष्ट पारेर अघि बढ्नुपर्ने उनीहरूको धारणा थियो । ‘चीन वा भारत रिसाउँछ भनेर होइन, के गर्दा मुलुकलाई फाइदा हुन्छ त्यसअनुरूप अघि बढ्न जरुरी छ । तर त्यसका लागि दुवैको चासोलाई ख्याल गर्न जरुरी छ,’ श्रेष्ठले भने ।