रिपब्लिकन राष्ट्रपतीय उम्मेदवार डोनाल्ड ट्रम्प फेरि विवादमा परेका छन् । दोस्रोपटक डेमोक्रयाटिक प्रतिद्वन्द्वी हिलारी क्लिन्टनको हत्या हुनसक्ने अर्थ लाग्ने अभिव्यक्ति दिएपछि उनको विरोध भइरहेको छ ।
ट्रम्पले क्लिन्टनका सुरक्षागार्डहरुले हतियार फालेर ‘के हुने रहेछ’ भनी हेर्नुपर्ने बताएका छन् । उनले आफ्ना समर्थकहरुमाझ ‘आफना प्रतिद्वन्द्वीले जनताको बन्दुक राख्ने अधिकार नष्ट गर्न खोजेको’ बताए ।
प्रतिक्रियामा क्लिन्टनको समूहले चाहिं ट्रम्प ‘मानिसहरुलाई हिंसातर्फ प्रेरित गर्न लागिरहेको’ बताएका छन् ।
‘मेरो विचारमा उनका अंगरक्षकहरुले पहिला हतियार फाल्नु पर्यो । अर्थात निशस्त्रीकरण गर्नुपर्यो,’ मियामीमा आमसभालाई सम्बोधन गर्दै ट्रम्पले व्यंगपूर्वक भने, ‘उनीहरुका बन्दुक लैजाऔं । के हुँदोरहेछ हेरौं । ठिक छ हेरौं कति खतरनाक हुँदो रहेछ ।’
क्लिन्टनकी प्रवक्ता रोवी मुकले भनेका छन्, ‘चाहे यो विरोधीहरुलाई उचाल्न भनिएको हो या जोकका रुपमा, यसले मुलुककै कमाण्डर इन चिफ बन्न खोजेको मानिसलाई शोभा दिंदैन । यस्तो खाले कुरा राष्ट्रपतीय उम्मेदवारले नगर्नुपर्ने हो ।’
क्लिन्टनले अमेरिकामा बन्दुक राख्न कडा नियन्त्रणात्मक व्यवस्था लागु गर्नुपर्ने बताउँदै आएकी छिन् । तर त्यसको मतलब सबैको बन्दुक फिर्ता लिनुपर्ने भन्ने नरहेको उनको भनाई छ ।
बाराक ओबामा अमेरिकामै जन्मेका होइनन् भन्ने आफ्नो पूर्व अभिव्यक्ति फिर्ता लिएको केही घण्टापछि ट्रम्पले यस्तो उत्तेजक टिप्पणी गरेका हुन् । उनले ओबामाको जन्मसम्बन्धी विवाद क्लिन्टनले सुरु गरेको समेत आरोप लगाए ।
‘हिलारी क्लिन्टन र उनको चुनावी अभियान २००८ को टोलीले यो विवाद सुरु गरेको हो । जुन मैले टुंगयाइदिएँ,’ उनले भने । तर क्लिन्टनमाथिको यो आरोपको कुनै प्रमाण छैन ।