जग्गा कारोबारका नाममा झण्डै २ करोड ५० लाख ठगी गर्ने पक्राउ

जग्गा कारोबारका नाममा झण्डै २ करोड ५० लाख ठगी गर्ने पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १ असोज २०७३
  • 7.9K
    Shares

साझेदारीमा जग्गा कारोबार गर्ने भनेर झण्डै २ करोड ५० लाख बराबरको रकम र सुन ठगी गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुटवल–१३ का ३८ वर्षे खुमबहादुर थापा र बुटवल–११ मा डेरा गरी बस्ने पर्वतको छापखाना गाविस–१ की ३२ वर्षीया जमुना आचार्य कुँवर रहेका छन् ।

१० जनाबाट एक करोड ८७ लाख ४० हजार रुपैयाँ र ६३ तोला सुन ठगी गरेको उजुरीका आधारमा बुटवल प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले देखाएका रुपन्देहीको बुटवल, देवदह, खैरेनी, शंकरनगर तथा नवलपरासीको सुनवलमा रहेका जग्गा फर्जी भेटिएको प्रहरीले बताएको छ ।

खुमबहादुर र जमुनाले २ वर्ष यता अर्कैको जग्गालाई आफ्नो भएको बताएर विभिन्न व्यक्तिसँग प्लटिङ गरेर विक्री गर्न साझेदारी गर्दै रकम संकलन गरेका थिए । रकम बुझाउनेमा बुटवल बजारकै स्थानीय तथा डेरा गरी बस्ने १० जना रहेका छन् ।

५ लाखदेखि रकम असुल्न सुरु गरेका उनीहरुले सुरु सुरुमा कमिशन भन्दै केही रकम दिएका थिए । रकम दिनेहरुले पछिल्लो समयमा जग्गाबारे शंका गरेपछि भने उनीहरु भागेका थिए । पीडितका उजुरीका आधारमा प्रहरीले आरोपीतलाई अर्घाखाँची र बुटवलबाट पक्राउ गरी ठगी मुद्दामा अनुसन्धान थालेको इप्रका बुटवलका डिएसपी मुकुन्द मरासीनीले बताए ।

प्रतिक्रिया