माओवादी सशस्त्र विद्रोहका पूर्व लडाकु ताक्लुङ गाविसका अरुण भनिने यमबहादुर थापा कांग्रेस निकट तरुण दलको चौथो अधिवेशनबाट सभापतिमा निर्वाचित भएका छन् । कुल खसेको २१९ मतमा १९७ मत ल्याएर शुक्रबार थापा तरुण दल गोरखाको अध्यक्ष निर्वाचति भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी धुव्र गुरुङले १३ र अर्का प्रतिस्पर्धीले ८ मत प्राप्त गरेका हुन् ।
२०५४ सालबाट माओवादीमा भुमीगत भएर लागेका उनी २०७० सालको संविधानसभा चुनाव अघि कांग्रेसमा प्रवेश गरेका थिए । माओवादी छाडनु अघि उनी पूर्व लडाकुको कमाण्डर थिए । माओवादी शान्ति प्रक्रियामा आएपछि उनी वाईसीएलमा लागेर काठमाडौंमा सक्रिय भएको एक नेताले बताए । डन र लागुऔषध प्रयोगकर्तालाई तह लगाउने नाममा उनी चर्चामा आएका थिए ।
हतियार सहित प्रहरीले प्रक्राउ गरेपछि थापा पार्टीले सहयोग नगरेको भन्दै कांग्रेसमा प्रवेश गरेको एक पूर्व लडाकुले बताए । नयाँ बसपार्क क्षेत्रमा ठेक्कापट्टा र वाईसिएलको नाममा ज्यादती मच्चाउँदै आएका थापालाई प्रहरीले हतियार सहित प्रक्राउ गरेको थियो । कांग्रेस नेता खुमबहादुर खड्काले छुटकारा दिन सहयोग गरेपछि सहयोगी सहित उनी कांग्रेसमा प्रवेश गरेका थिए ।
थापा अहिले पनि खड्का निकट मानिन्छन । तरुण दलले उनलाई आमन्त्रित केन्दि्रय सदस्यता दिएको थियो । २०७० को संविधान सभाको निर्वाचनमा चुनाव प्रचारमा गोरखा क्षेत्र नंम्बर १ मा खटिएको बेला उनलाई पुनः प्रहरीले भरुवा बन्दुक सहित प्रक्राउ गरेको थियो । हिरासतबाट छुटकारा पाउँदा उनलाई उमेदवार सहित कांग्रेस नेता कार्यकर्ताले अबिर, फुलमालाले स्वागत गरेका थिए । विगत ३ वर्ष देखि उनी कांग्रेसमा सक्रिय थिए ।
वाईसिएलमा राजधानीमा सक्रिय हुदाँ उनले गुण्डागर्दीबाट अवैध सम्पत्ति आर्जन गरेको आरोप छ । यद्यपी उनी यतिबेला राजधानीमा होटल र दोहोरी साँझ लगायत व्यवसायमा सक्रिय छन् । उनको श्रीमति समेत पूर्व लडाकु हुन् । उनलाई निर्विरोध सभापतिमा निर्वाचित गराउन जिल्ला स्थित कांग्रेस नेतृत्वले प्रयास गरेको थियो । दुई दिनको प्रयास असफल भएपछि चुनावी प्रतिस्पर्धाबाट उनी भारी मतले बिजयी भएका हुन् । निर्वाचित भएपछि उनले संचारकर्मीहरु सँग भने ‘बुलेटबाट राजनिति गर्ने माओवादी पनि व्यालेटमा पुगेको छ, बुलेटले मात्र राजनिति हुन्छ भन्नु भ्रम रहेछ ।’ माओवादीले भन्ने र गर्ने व्यवहार फरक रहेको उनले बताए । ‘युवाहरुलाई लडाउने भिडाउने होइन, उनीहरुलाई स्वदेशमै रोजगारी दिने प्रयास गर्छु ।’