उदयपुर जिल्लाबाट बैदेशिक रोजगारीका लागि मलेसिया पुगेका युवाहरुले जिल्लामा व्लड बैंक सञ्चालनका लागि सहयोग स्वरुप पठाएको तीन लाख रुपिया गायब भएको छ । पाँच वर्ष अघि व्लड बैक सञ्चालनको लागी जिल्ला रेडक्रस शाखालाई प्रदान गरेको तीन लाख गायब भएको हो ।
मलेसियामा रहेका उदयपुरे युवाको संस्था प्रवाशी एकता समाज सेवा मलेसिया सदस्य रामकुमार राईको नेतृत्वमा जिल्ला रेडक्रम शाखा उदयपुर सभापति बिनोद बस्नेतलेलाई कार्यालयमै एक कार्यक्रमबीच तीन लाख हस्तान्तरण गरेका थिए । ०६९ वैशाख ५ गते व्लड बैंक सञ्चालन लागी अक्षय कोष खडा गर्न सो रकम हस्तान्तरण गरिएको थियो ।
राईले पाँच बर्ष अघि सहयोग गरेको रकमले किन व्लड बैङक सञ्चालनमा आएन भन्ने कुरा सोधिखोजी गर्दा रकम गायब भएको खुलासा भएको हो । ‘मलेसियाबाट फर्केपछि व्लड बैङक सञ्चालन आएको पाईन ।’ राई भने, ‘किन आएन, कसरी आएन त्यो थाहा भएन तर रेडक्रस सभापतिलेनै रकम गायब पारेको पो थाहा पाएँ ।’
ब्लड बैङक सञ्चालनमा नआएपछि अहिले राईले पैसा फिर्ता मागेका छन् । सेवा समाजको प्रतिनिध भएर आएका राईले ०७३ साउन २५ गते व्याज सहित पैसा फिर्ता पाँउ भनि निवेदन रेडक्रसमा समेत दिएका छन् । ‘रेडक्रसका सभापति बस्नेतले धमक्याउने काम गर्छन्’ राईले भने ।
राईका अनुसार ०६८ भदौ २४ गते तत्कालिन प्रमुख जिल्ला अधिकारी बीरबहादुर राईको नेतृत्वमा जिल्ला जिल्ला विकास समितिको कार्यालयमा बसेको बैठकमा ब्लड बैङक सञ्चालन समिति गठन गरिएको थियो । त्यही बैठकमा प्रवाशी एकता समाज सेवा मलेसियले पाँच लाख सहयोग गर्ने सम्झौता भए अनुसार पहिलो चरणमा तीन लाख प्रदान गरेका थिए ।
बैठकमा ब्लड बैंक व्यवस्थापन समिति गठन, व्लड बैंक सेवा सञ्चालन प्रक्रिया र अक्षय कोषको सम्बन्धमा निर्णय भएकाले समाजले सहयोगको प्रतिबद्धता दिएको थियो ।
नेकपा एमालेका नेता तथा उदयपुरका समाजसेवी बलदेव चौधरीको संयोजकत्वमा बसेको १७ सदस्यीय बैठकमा ब्लड बैङक व्यवस्थापन समिति गठन भएको थियो ।
जिल्ला सदरमुकाम गाईघाट बोक्सेमा ब्लड बैङक सञ्चालनका मलेसियामा रहेका एक सयभन्दा बढी युवाले रकम संकलन गरी पठाएका थिए ।
व्लड बैंकको भवन बनेपनि रकम अभावमा सेवा सञ्चालन भएको थिएन । सेवा सञ्चालन भएपछि जिल्लाबासीले सेवा पाउने छन् भन्ने आशमा सहयोग हस्तान्तरण गरेको राईले बताए ।
रेडक्रसका जिल्ला सभापति बिनोद बस्नेतले तत्कालिन प्रमुख जिल्ला अधिकारी बीरबहार राईलेको अध्यक्षतामा बसेको बैठकबाट रकम लिएको बताए । सभापति बस्नेतले मलेसियामा बस्नेले एकसय पचास युवाले पठाएको रकम एक जनाले माग्दैमा नदिने बताएका छन् ।
‘एकजनाले रकम फिर्ता माग्दै दिने अधिकार मलाई छैन’ सभापति बस्नेतले भने, ‘प्रवाशी एकता समाज सेवा मलेसियाबाटै रकम नदिनु भनि पत्र आएको छ ।’
संस्थाले निवेदन पठाएर पैसा मागे सिडिओ सहित बैठक राखेर सबै पैसा फिर्ता दिने बस्नेतले बताए । भवन निर्माण भएको एक दशक बितिसक्दा पनि उदयपुरमा ब्लड बैंक सञ्चालन हुन नसकेका हो ।