काठमाण्डौको लैनचौरस्थित बाटोमा शंकास्पद रुपमा हिँडिरहेका लिम्बु भन्ने बुद्धिबल आङबो पक्राउ परे । प्रहरीले खानतलासी गर्ने क्रममा इलाम मंगलबारे घर भई लैनचौर बस्ने उनको झोलामा पेस्तोल भेटिएको छ । तर, त्यो पेस्तोल खेलौना भएको प्रहरीले बताएको छ । उनको साथबाट ल्यापटप दुई थान, मोबाइल तीन थान र क्यामेरा पनि बरामद भएको छ । उनलाई प्रहरीले हिरासतमा राखेको छ ।
तीन जना हतियारसहित पक्राउ
यस्तै नवलपरासीमा विभिन्न हतियारसहित तीन जना पक्राउ परेका छन् । प्रतापपुर-४ बेलटारीबाट भारतीय मोटरसाइकलका चालक पल्लिहवा-४ रतनगंज बस्ने १८ वर्षीय अशोक कुशहवा, मोटरसाइकलमा सवार गुठीसुर्यपुरा-७ बस्ने १८ वर्षीय सुनिल कमकर र गुठी सूर्यपुरा-६ बस्ने १९ वर्षीय सन्तोष कमकर पक्राउ परेका हुन् । त्रिभुवन उच्च माबिमा अज्ञात ब्यक्तिहरुले भर्नाको बिषयलाई लिएर धाकधम्की दिई भाग्न लागेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलटारीबाट खटिएको टोलीले चेकजाँच गरेको थियो ।
त्यसक्रममा मोटरसाइकलको डिकीमा एयरगन (पेस्तोल) १ थान बरामद भएको छ । साथै सुनिलको साथबाट सो गनमा प्रयोग हुने गोली ८५ थान र सन्तोषको साथबाट धारिलो हतियार चक्कु बरामद भएको छ ।