स्याङजामा पहिरो : एकै घरका चार जनाको मृत्यु

स्याङजामा पहिरो : एकै घरका चार जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १९ भाद्र २०७३
  • 9.3K
    Shares

स्याङजाको केवरेभन्ज्याङ्ग–७ को उपल्लो ताप्केमा शनिबार राति पहिरो जाँदा चार जनाको ज्यान गएको छ । राति साढे एक बजेतिर पहिलो जाँदा चन्द्राकुमारी सारु मगर र उहाँको घरमा तीज मनाउन आएका तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

ज्यान जानेमा ७८ वर्षकी चन्द्राकुमारी सारु मगर, उहाँकी नातिनि मल्याङ्गकोट–९ दार्सिङकी हुमकला मस्र्याङगी मगर तथा हुमकलाका ७ वर्षकी छोरी पुनम र एक वर्षका छोरा सुजनको पुरिएर ज्यान गएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक उत्तम प्रकाश बरालले जानकारी दिनुभयो ।

घटनाको जानकारी पाउना साथ राति नै प्रहरीको टोली घटनास्थलमा पुगेको उहाँले बताउनुभयो । अविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोले उनीहरुलाई सुतिरहेको बेलामा पुरेको हो । चारै जनाको शवलाई पुरिएको ठाँउबाट निकालेर पोष्टमार्टमाको लागि वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ । चन्द्राकुमारीका छोरा थमसिंहसहित सात जनाले भने भागेर ज्यान जोगाएका छन् ।

प्रतिक्रिया