शूल्क बढाएकाे विराेधमा पोखरा विश्वविद्यालयका विद्यार्थी आन्दोलित

शूल्क बढाएकाे विराेधमा पोखरा विश्वविद्यालयका विद्यार्थी आन्दोलित


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १६ भाद्र २०७३
  • 13.3K
    Shares

पोखरा विश्वविद्यालय

शुल्क बृद्धि रोक्न माग गर्दै पोखरा विश्वविद्यालयका विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । अभिभावकको ढाड सेक्ने गरी विद्यार्थी शुल्क बढाउन लागिएको भन्दै अखिल (क्रान्तिकारी), विप्लव निकट क्रान्तिकारी र अन्य विद्यार्थी आन्दोलित भएका हुन् । शुल्क बृद्धि खारेजीको माग सहित ९ बुँदे ज्ञापनपत्र विश्वविद्यालय प्रशासनलाई बुझाएको अखिल (क्रान्तिकारी)ले भदौ १३ गतेदेखि तालाबन्दी गरेको छ ।

क्रान्तिकारीले विश्वविद्यालयका उपकुलपति डा चिरञ्जीवीप्रसाद शर्मालाई ज्ञापनपत्र बुझाएको थियो । माग पुरा नभएको भन्दै विश्वविद्यालयको उपकुलपतिको कार्यालय, रजिस्ट्रारको कार्यालय र योजना महाशाखामा तालाबन्दी गरेको हो ।

क्रान्तिकारीका पोखरा विश्वविद्यालय अध्यक्ष विकास गायकले प्रशासनले मागलाई सम्बोधन गर्न गम्भीरता नदेखाएकोले तालाबन्दी गर्नु परेको बताए । उनले विश्वविद्यालयको कार्यकारिणी परिषद्ले १५ देखि २५ प्रतिशत शुल्क बृद्धि गर्ने निर्णय गरेको दाबी गरे ।

‘आधिकारिक निर्णय हामीलाई देखाइएको छैन,’ उनले भने, ‘प्रशासनले २४ प्रतिशत शुल्क बृद्धि गरेको छ ।’

प्रशासन र क्रान्तिकारीबीच बिहीबार वार्ता भएपनि सफल हुन सकेन । इन्जिनियरिङ संकायका डीन बुद्धिराज जोशीको संयोजकत्वमा गठित वार्ता टोली र क्रान्तिकारीबीचको वार्ता निस्कर्षमा पुग्न नसकेपछि तालाबन्दी जारी राखेको छ । यसअघि १३ गते तालाबन्दी गर्दा प्रशासनले फोडेपछि क्रान्तिकारीले पुन तालाबन्दी गरेको थियो ।

क्रान्तिकारीले १४ गतेबाट विश्वविद्यालय पदाधिकारीको सवारीसाधनको चावी पनि कब्जा गरेको छ ।

क्रान्तिकारीले विश्वविद्यालयलाई भद्रगोल बनाउने गरी सम्बन्धन दिन र कार्यक्रम दिन लागेको भन्दै सोको विरोध गरेको छ ।

छात्रवृत्ति कार्यक्रमलाई व्यवस्थित बनाउँदै तुरुन्त फारम वितरण सुरु गर्नुपर्ने, सम्बन्धन प्राप्त निजी कलेजले लिने प्रवेश परीक्षा केन्द्रीय क्याम्पसमा केन्द्रीकृत गर्नुपर्ने, महिला छात्रावास, पुस्तकालय, इन्टरनेट लगायतका विषय व्यवस्थित गर्नुपर्ने, हरेक कार्यक्रममा मास्टर कार्यक्रम राखि विज्ञको व्यवस्था गर्नुपर्ने क्रान्तिकारीले माग गरेको छ ।

क्रान्तिकारीका अध्यक्ष गायकले भने, ‘जथाभावी सम्बन्धन दिँदा विश्वविद्यालयमा पढाइको गुणस्तर खस्किन्छ ।’ उनले क्रान्तिकारीसँग विगतमा भएका सहमति पनि विश्वविद्यालय प्रशासनले पूरा नगरेको बताए ।

गायकले माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् । बिहीबार नै केही विद्यार्थीको समूहले स्वास्थ्य संकायका डीन डा खेमराज जोशीको कुर्ची जलाएका छन् । उनीहरुले पनि शुल्क बृद्धि खारेजीको माग गर्दै कुर्सी जलाएका हुन् ।

विद्यार्थीले आन्दोलन गर्ने र प्रशासनले सम्बोधन नगर्ने गर्दा पोखरा विश्वविद्यालय अस्तव्यस्त बनेको छ । विद्यार्थी आन्दोलनका कारण विश्वविद्यालयमा नियमित कक्षा सञ्चालन हुन सकेका छैनन् ।

 

प्रतिक्रिया