जुम्लाको बुम्रमाडीचौर गाविसबाट अत्याधुनिक हतियारसहित ५ जना लुटेरालाई प्रहरीले गएराति पक्राउ गरेको छ । प्रहरीले एसएमजी १ थान, ७ राउन्ड गोली, १ थान चाइनिज पेस्तोल र ३ राउन्ड गोली, ३०० केजी वन लसुन र ७० हजार नगदसहित ५ जना लुटेरालाई पक्राउ गरेको हो ।
जनपथ तथा सशस्त्र प्रहरीको संयुक्त अपरेसनको १६ दिनपछि लुटेराहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिए । प्रहरी नायब उपरीक्षक कोइरालाका अनुसार गोठीचौर, पातारासी, छुमचौर र डिल्लीचौरमा पनि अपरेसन तीव्र बनाइएको छ ।
पक्राउ परेका ५ जनामाथि अनुसन्धान थालिएको उनले बताए। यसअघि जिल्लाको पातारासी गाविसका जनक बुढा र पृथ्वीबहादुर ऐडीको घरबाट धनमाल र ६ लाख नगद लुट्नेलाई डाँकाको मुद्दा चलाइरहेका बेला पुन ५ जना लुटेरालाई प्रहरीले समात्न सफल भएको हो । प्रहरीले लुटेरालाई खोजतलास कार्य तीव्र बनाएपछि स्थानीयवासी खुसी भएका छन् ।