पर्साको वीरगञ्ज उपमहानगरपालिका–१७ पिपरामा रहेको पाँच कठ्ठा जग्गा माओवादी केन्द्र पर्सालाई भाडामा दिने निर्णय पाँच दिनमै फिर्ता भएको छ । नेकपा एमालेलगायत अन्य राजनीतिक दलका नेताहरुले निर्णयको विरोध गरेपछि निर्णय फिर्ता लिन समिति बाध्य भएको हो ।
सरकारको नाममा रहेको ऐलानी जग्गा नेकपा माओवादी केन्द्र पर्सालाई ५० वर्षका लागि भाडामा दिने स्थानीय सिफारिस समितिले निर्णय गरेको थियो ।
शुक्रबार विहान जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सिफारिस समितिको बैठकले आफनो निर्णय फिर्ता लिएको बीरगंज उपमहानगरपालिकाका कार्यकारी अधिकृत एव समितिका सदस्य बिष्णु कोइरालाले जानकारी दिए ।
यस अघि गरेको सिफारिश कानूनी रुपमै त्रुटीपूर्ण देखिएकोले सो सिफारिश रद्ध गरि सम्बन्धीत निकायमा अविलम्ब जानकारी गराउने निर्णय गरिएको निर्णय पुस्तिकामा उल्लेख छ ।
सिफारिस रद्ध गर्न माग गर्दै शुक्रबार नै नेकपा एमाले पर्साको टोलीले प्रमुख जिल्ला अधिकारी केशव घिमिरेलाई अवासमै भेट गरेको थियो । त्यस्तै संघीय समाजवादी फोरमले बिहानै वीरगञ्जको घण्टाघरमा जग्गा दिने निर्णय फिर्ता लिनु पर्ने माग राखेर कोण सभा गरेको थियो ।