दुई महिनामा तरकारीको मुल्यमा ४ सय ५० प्रतिशतसम्म वृद्धि

दुई महिनामा तरकारीको मुल्यमा ४ सय ५० प्रतिशतसम्म वृद्धि


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ६ भाद्र २०७३
  • 11.6K
    Shares

तरकारी

हरेक छाक भान्छामा नभई नहुने तरकारीको मूल्य यति धेरै आकासिएको छ कि, दुई महिनामा साढे चार सय प्रतिशतसम्म बढेको छ । त्यति मात्र होइन, पसलैपिच्छे फरक–फरक मूल्य छ, व्यापारीले मनलाग्दो असुल्ने गरेका छन् ।

तर बजार अनुगमन तथा नियन्त्रण गर्ने जिम्मेवारी लिएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले ध्यान दिएको छैन । सरकारले कालोबजारी नियन्त्रणमा ध्यान नदिँदा उपभोक्ता चर्को मूल्यको मारमा परेका छन् । ‘आइतबार ७० रुपैयाँँ किलोमा किनेको गोलभेंडा सोमबार ९० रुपैयाँँ तिर्न बाध्य भएँ,’ ज्ञानसिन्धु स्कुल पढाउने लैनचौरकी अनु गुरुङले भनिन्, ‘महँगीले सबै तलब खाद्यान्न र तरकारीमै खर्चिनुपरेको छ ।’

खाद्यन्न तथा तरकारीमा ‘लुट’ भए पनि नियमनकारी निकाय मौन छ । मन्त्री भएलगत्तै बजार अनुगमन बढाउन थालेका आपूर्तिमन्त्री दीपक बोहोराले तरकारीमा अनुगमन र दोषीलाई कारबाही गरेका छैनन् । अनुगमन टोलीले खाद्य किराना पसल र फार्मेसीले नवीकरण गरे/नगरेको मात्रै हेर्दै आएको छ । प्रभावकारी अनुगमन र कारबाही नहुँदा ठगी गर्ने व्यापारीलाई प्रोत्साहन मिलेको छ ।

खुद्रा व्यापारी होलसेलमै भाउ बढेको तर्क गर्छन् । तर होलसेलमा प्रतिकिलो ५० रुपैयाँँ पर्ने काउली खुद्रा पसलमा दोब्बर मूल्य अर्थात् सय रुपैयाँँसम्ममा बेच्ने गरिएको छ । होलसेलमा ४० रुपैयाँँ पर्ने गोलभेंडा खुद्रा पसलमा ९० रुपैयाँँमा बेच्ने गरिएको छ ।

‘कालीमाटीबाट किनेर ल्याइने अधिकांश तरकारी बिग्रेका हुन्छन्,’ धुम्बाराहीस्थित सुब्बा स्टोरका सञ्चालक बेनबहादुर लिम्बूको तर्क छ, ‘त्यसैले बढी लिन बाध्य छौं ।’ मैतीदेवीका खुद्रा व्यापारी मीना अर्यालको भनाइ पनि उस्तै छ । ‘दुई/चार पैसा नाफा नराखी बिक्री गरे कसरी सटर भाडा तिर्नु ?’ उनले भनिन् ।

बजार अनुगमन गर्ने जिम्मा पाएको विभागले कालीमाटीमा सबेरै ३ देखि ५ बजेभित्र तरकारी भित्रिने हुँदा अनुगमन गर्न नसकिने तर्क गरेको छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले वर्षाले तरकारी बाली नष्ट र ढुवानीमा समस्या भएकाले मूल्य बढेको बताए । समितिको तथ्यांकअनुसार दुई महिना अवधिमा थोक (होलसेल) मूल्यमै साढे ४ सय प्रतिशतसम्म बढेको छ ।

दुई महिनाअघि प्रतिकिलो १८ रुपैयाँँ (होलसेल) पर्ने स्थानीय काउली अहिले १ सय ८९ प्रतिशत बढेर ५२ रुपैयाँँ पुगेको छ । यस्तै, आलु, प्याज, बोडी, घिउसिमी, तितेकरेला, चिचिन्डो, घिरौंला, फर्सी, हरियो प्याज, च्याउ, काँक्रो, अदुवा, खुर्सानी, धनियाँ, लसुनलगायत तरकारीको भाउ आकासिएको छ ।

दुई महिनाअघि प्रतिकिलो ३५ रुपैयाँँ (होलसेल) पर्ने आलु बढेर ४२, प्रतिकिलो २२ रुपैयाँँ पर्ने बोडी ४२, प्रतिकिलो २२ रुपैयाँँ पर्ने घिउसिमी ४८, प्रति किलो १८ रुपैयाँँ पर्ने तितेकरेला ३८ रुपैयाँँ पुगेको छ । प्रतिकिलो १८ रुपैयाँँ (होलसेल मूल्य) पर्ने घिरौंला ४८ रुपैयाँँ, किलोको २५ रुपैयाँँ पर्ने हरियो फर्सी बढेर ३८ रुपैयाँ, किलोको ९५ रुपैयाँँ पर्ने च्याउ १ सय ५५ रुपैयाँँ, २ सय २५ रुपैयाँँ पर्ने कुरिलो बढेर ३ सय ७५ रुपैयाँ पुगेको रेकर्ड छ ।

समितिका अनुसार कालीमाटी तरकारी बजारले उपत्यकाको ७० प्रतिशत माग धान्छ । सामान्य अवस्थामा कालीमाटी तरकारी बजारमा दैनिक ७ सय टन तरकारी भित्रिन्छ । तर, केही महिनायता औसत ५ सय टन मात्रै भित्रने गरेको छ । ‘अहिले मुख्यत समस्या उत्पादनकै हो,’ कालीमाटी फलफूल तथा तरकारी बजार व्यावसायिक संस्थाका अध्यक्ष भरत खतिवडाले भने, ‘तरकारी उत्पादन हुने क्षेत्र नै प्रभावित भएकाले पर्याप्त मात्रामा भित्रिन सकेन ।’

तथ्यांकअनुसार प्रतिकिलो ३५ रुपैयाँँ (होलसेल) पर्ने काँक्रो बढेर ४२ रुपैयाँँ, किलोको ७३ रुपैयाँँ पर्ने हरियो प्याज बढेर ९५ रुपैयाँँ, ३५ रुपैयाँँ पर्ने खुर्सानी बढेर ८३ रुपैयाँँ, ४५ रुपैयाँ पर्ने हरियो धनियाँ २ सय ४५ रुपैयाँँ, २ सय १५ रुपैयाँँ पर्ने सुकेको नेपाली लसुन २ सय ४५ रुपैयाँँ पुगेको छ । चिनियाँ लसुनको मूल्य होलसेलमै ३ सय १० रुपैयाँँमा कारोबार भएको समितिले जनाएको छ ।

उक्त मूल्य अहिलेसम्मकै उच्च रहेको सूचना अधिकारी श्रेष्ठले बताए । समितिका अनुसार मुलुकभित्र चिनियाँ लसुनको माग हवात्तै बढेको छ । तर स्थानीय उत्पादनले उपत्यकाकै माग धान्न सक्दैन । ‘माग पूरा गर्न चीनबाट आयात गर्नुपर्छ, तर वर्षाले यातायाताको समस्या छ,’ उनले भने । उपत्यकामा मुख्यत: धादिङ, नुवाकोट, काभ्रे, चितवन, मकवानपुरलगायत तराई जिल्लाबाट तरकारी भित्रिन्छ ।

तरकारीसँगै अन्य खाद्यन्नको भाउ पनि आकासिएको छ । नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्रा बज्रचार्यले होलसेल व्यापारीले मूल्य बढाएकाले खुद्रामा पनि बढेको बताए । ‘मुलुकमा खपत हुने ८० प्रतिशत खाद्यान्न आयात हुन्छ, होलसेल व्यापारीले आयात गर्दा महँगोमा किनेको भन्ने गरेका छन्,’ उनले भने, ‘सोहीअनुसार खुद्रा व्यापारीले मूल्य तोकेका हुन् ।’

संघका अनुसार बासमती चामलमा प्रतिकिलो १० रुपैयाँँ बढेर १ सय १० रुपैयाँँ, त्रिशूली चामलमा ५ रुपैयाँँ बढेर किलोको ७० रुपैयाँँ, ताइचिन चिउरा १० रुपैयाँँ बढेर ७० रुपैयाँँ, मासको दालमा १० रुपैयाँ बढेर २ सय ७० रुपैयाँ पुगेको छ । मसुरो दाल प्रतिकिलो १० रुपैयाँले बढेर १ सय ७०, चना दालमा प्रतिकिलो ५० बढेर २ सय २० रुपैयाँ, काचो तोरीको तेलमा प्रतिलिटर २० बढेर १ सय ६०, नेपाली घिउमा ५० रुपैयाँ बढेर प्रतिलिटर ७ सय रुपैयाँ पुगेको छ । यस्तै, पिठो किलोमा ४० रुपैयाँ बढेर २ सय २०, काबुल चना १ सय ६० रुपैयाँबाट बढेर २ सय १० पुगेको छ । किलोको ७५ रुपैयाँ पर्ने चिनी बढेर ९० रुपैयाँमा किन्नुपर्छ ।

‘पानी धेरै पर्‍यो, तरकारीको मुख्य भण्डारण तराई हो तर धेरै तरकारी नष्ट भयो । पहाडमा भएको तरकारी तराई र उपत्यकामा बिक्री भएको छ,’ विशेष अनुगमनको व्यवस्थापन गरिरहेका आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक गोकुल धितालले भने, ‘तरकारी कुहिएर आपूर्तिमा कमी हुँदा मूल्य बढेको छ ।’ अन्य खाद्यान्नको मूल्य विदेशमै बढेकाले यहाँ महँगो परेको उनले बताए । बजारमा भइरहेको मूल्यवृद्धिबारे विश्लेषण गरिरहेको जनाउँदै उनले ठगीलाई कडा कारबाही हुने बताए ।

प्रतिक्रिया