देशैभर जनपरिषद् गठन गरेको विप्लव नेतृत्वको माओवादीले पर्वतमा पनि आज समान्तार सरकारको रुपमा जन प्रतिनिधीसभा तथा जनपरिषद् अर्थात् जनसरकार गठन गरेको छ । पर्वतको कुश्माबजारमा सम्पन्न भेलाले धौलागिरी उपब्युरो सदस्य बैकुण्ठ गिरीको नेतृत्वमा १ पछि थप्ने गरि ११ सदस्यीय जिल्ला जनसरकार गठन गरेको हो । उक्त परिपद्को उपप्रमुखमा ढक बहादुर क्षेत्री, सदस्यीयहरुमा छलिमाया अधिकारी, राम अधिकारी, टिका नेपाली, धर्म पौडेल, ओम पन्त, डम्बर क्षेत्री, बिष्णु अधिकारी र द्रोण बहादुर क्षेत्री रहेका छन् । कमला अधिकारीको अध्यक्षतामा गठन भएको ३ पछि थप गर्ने गरिको २५ सदस्यीय जिल्ला जनप्रतिनिधीसभाको भेलाले पर्वत जिल्ला जनपरिषद् गठन गरेको हो ।
जिल्ला जनपरिषद् गठन समारोहमा केन्द्रिय सदस्य तथा धौलागिरी उपब्युरो इन्चार्ज पारशमणी, धौलागिरी उपब्युरोका सदस्य अमरसिंह बाग्लुङ्ग जिल्ला सेक्रेटरी बिकीरण, पर्वत जिल्लाका सेक्रेटरी हिमाल, तथा उद्योग ब्यापार यातायात महासंघका केन्द्रिय सहसंयोजक दलसिंहलगायतको बिषेश उपस्थितिमा उक्त भेला सम्पन्न भएको हो ।
परिषद् गठनपश्चात आफ्नो भनाई राख्दै केन्द्रिय सदस्य तथा धौलागिरी उपब्युरो इन्चार्ज पारसमणिले देश निकै संकटको अवस्थामा रहेकोमा नेपालमा गठित सरकार उदासिन भएको र जनतामा आफुहरुले विकल्पको रुपमा यो परिषद् निर्माण गरेको बताए । उनले माओवादी आन्दोलनमा केहि दलाल प्रवृतिका मानिसहरु रहेको र त्यो पार्टी संघर्षमा होमिन लाग्दा पलायन हुँदै गएको भन्दै कार्यकर्ताहरुलाई दृढतापुर्वक अगाडी बढ्न निर्देशन दिए ।