सरकारी पत्र किर्ते गरेर स्पेन जाने प्रयासमा संलग्न माओवादी केन्द्रका ८ सांसदका सहयोगी रोहित खड्का पक्राउ परेका छन् । क्यारियर ब्रिज कन्सल्टेन्सी सञ्चालन गरेर बसेका रोहित भन्ने दिनेश खड्का संलग्न देखिएकाले अनुसन्धानका लागी आइतबार पक्राउ गरिएको ब्युरोले जनाएको छ ।
माओवादीका ८ सभासद्ले स्पेन जान पेस गरेको सरकारी पत्र नक्कली बनाएर अर्कै व्यक्तिको नाम थपी अबैध मानव ओसारपसारमा संलग्न रहेको देखिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान अगाडि बढाएको थियो ।
स्पेनमा आयोजीत विभिन्न कार्यक्रममा सहभागी हुने निम्तो पत्र, संसद सचिवालयको सिफारिस पत्रसंगै भारतमा रहेको स्पेनको दुतावासमा कन्सुलर विभागको सिफारिस पत्र पुगेको थियो ।
यी पत्रमध्ये कन्सुलर विभागको पत्र किर्ते गरी असम्बन्धित ब्यक्तिलाई सहयोगी बनाएको खुलेपछी स्पेनी दुतावासले दिल्लीस्थित नेपाली दुतावास हुँदै ती पत्र नेपाल पठाएपछी सरकारी पत्र किर्ते गरी असम्बन्धीत ब्यक्तिलाई सहयोगी बनाएर मानव ओसारपसारको प्रयास गरिएको खुलेको थियो ।
संसद् सचिवालयको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय शाखाको भिसा सिफारिस पत्रका आधारमा कन्सुलर सेवा विभागले उनीहरूको नाममा सिफारिस पत्र दिएको थियो । संसद् सचिवालय र विभागको पत्रमा सांसदको मात्रै नाम सिफारिस थियो । तर, स्पेनका लागि भिसा आवेदन गर्दा सबैको पत्रमा व्यक्तिगत सहयोगीका रूपमा एक–एक जनाको नाम थपिएको थियो ।
कन्सुलरको पत्र नक्कली बनाई माओवादी सभासद् डोरप्रसाद उपाध्यायले सहदेव थापा, सिर्जना तमारु खत्रीले अदिना गुरुङ, सन्तकुमार थारूले देवेन्द्रप्रसाद साहलाई, रूपा महर्जन श्रेष्ठले लोकमान गुरुङलाई, राममाया बोगटीले तेन्डोमा शेर्पालाई, दिलमाया धामीले पंकज गुरुङलाई र धना पहरीले खडगबहादुर राईलाई नक्कली पिए बनाएको खुलेको थियो ।
सांसद कुँवरले २८ जुनदेखि १ जुलाईसम्म स्पेनमा आयोजना हुने ‘इन्टरनेसनल इन्स्टिच्युट अफ सोसल एन्ड इकोनोमिक साइन्स’को कार्यक्रममा सहभागी हुन आवेदन दिएकी थिइन् ।
उपाध्याय र बोगटीले २९ जुनदेखि १ जुलाईसम्म आयोजना हुने ‘एन्टी माइक्रोबायल रिसर्च (सूक्ष्म जीवाणु अध्ययन)’ सम्बन्धी कार्यक्रममा भाग लिन निवेदन दिएका थिए ।
खत्री र श्रेष्ठ २८ जुनदेखि १ जुलाईसम्मको ‘टिचिङ एन्ड एजुकेसन’ कार्यक्रम, थारूले ११ जुलाईदेखि १३ सम्म आयोजना हुने ‘इन्टरनेसनल रिन्युवेबल इनर्जी एन्ड इन्भायोरोमेन्ट कन्फ्रेन्स’मा जान निवेदन दिएका थिए । धामी र पहरीले जुलाई २१ देखि २४ तारिखसम्म आयोजना हुने भाषासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आवेदन दिएका थिए ।
उनीहरूले दिएको निवेदनका आधारमा शाखाले २०७३ जेठ २३ मा भिसा सिफारिसका लागि कन्सुलर सेवा विभागमा पत्र पठाएको थियो । उनीहरूले भिन्न–भिन्न कार्यक्रममा सहभागी हुन निवेदन दिए पनि संसद् सचिवालयले कन्सुलर विभागलाई जेठ २३ गते सबै सिफारिस पत्र एकैसाथ पठाएको थियो । शाखाको पत्रका आधारमा कन्सुर विभागले ५ जुनमा ‘जो जससँग सम्बन्धित छ’ भन्ने पत्र लेख्दै भिाका लागि सिफारिस गरेको थियो ।
अनुसन्धानमा संलग्न स्रोतका अनुसार सभासद्को पिए बनाएर स्पेन लगे वापत नक्कली पिएहरुसंग प्रतिब्यक्ति १२ देखी १६ लाख रुपैंयासम्म लिएको खुलेको छ । सभासद्हरुका लागी कार्यक्रमको निम्तो रोहितलेनै खोजिदिएको र सभासद्हरुले उसलाई सबै कामको जिम्मेवारी दिएको खुलेको अनुसन्धानमा संलग्न स्रोतले जानकारी दियो ।
अनुसन्धानस्रोतका अनुसार केही सभासद्लाई आफूसंगै अर्का ब्यक्ति पिए बनेर जान लागेको बारे जानकारी रहेको तर सो वापत आउने पैसा सभासद्ले लिए या नलिएको भने खुलेको छैन ।
‘आफूसंगै असम्बन्धीत ब्यक्ति पिए बनेर जान लागेको बारे सभासद् जानकार देखिए,’ अनुसन्धानमा संलग्न ब्युरोका अधिकारीले भने‘ त्यो वापत रोहितले लिएको पैसा सभासद्ले पाए या पाएनन त्यसबारे खुलेको छैन ।’
रोहित पक्राउबारे जानकारी दिन ब्युरोले सार्वजनिक गरेको प्रेस विज्ञप्ती अनुसार बिभिन्न बिशिष्ट ब्यक्ति तथा सांसदको बिदेश भ्रमण सम्बन्धी कार्यक्रमहरुमा अन्य असम्बन्धित ब्यक्तिहरुबाट अनुचित आर्थिक लाभ लिई निजी सहयोगीको रुपमा किर्ते कागजातहरु तयार पारी युरोपका बिभिन्न देशहरुमा पठाउने गरेको सूचनाको आधारमा अनुसन्धान शुरू गरिएको उल्लेख छ ।
‘सन २०१६ को जुन र जुलाइमा स्पेनमा आयोजना हुने बिभिन्न कार्यक्रम र गोष्ठीमा सहभागी हुन परराष्ट्र मन्त्रालय कन्सुलर सेवा बिभागबाट जारी भएको भिषा सिफारिस पत्रमा अनुचित आर्थिक लाभ लिने उद्देश्यले असम्बन्धित ब्यक्तिहरुको समेत नाम किर्ते गरी थपेको’ ब्युरोको विज्ञप्तीमा उल्लेख छ ।
सभासद्को संलग्नताबारे भने ब्युरोले केही जानकारी दिएको छैन । ब्युरोका प्रवक्ता दिवस लोहनीले ‘अन्य ब्यक्तिहरूको संलग्नताको सम्बन्धमा थप अनुसन्धान अघि बढाईएको’ मात्र बताए ।
ब्युरोका अनुसार माओवादी सभासद्का सहयोगी रोहित यस अघि जालसाजी, चेक अनादर मुद्दामा फरार सुचीमा थिए । उनी विरुद्ध बैदेशिक रोजगार ठगी मुद्दामा अदालतले २ बर्ष कैद र दुई लाख रुपैंया जरिवाना सुनाए पनि फरार थिए ।