नेविसंघको प्रतिनिधि विवाद अझै मिलेन, देउवा निवासमा नाराबाजी

नेविसंघको प्रतिनिधि विवाद अझै मिलेन, देउवा निवासमा नाराबाजी


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २९ साउन २०७३
  • 11.4K
    Shares

नेपाल विद्यार्थी संघको महाधिवेशन प्रतिनिधिको नामावली शनिबार पनि प्रकाशित हुन सकेन । यसले नयाँ नेतृत्व चयनका लागि आइतबार सुरू हुने भनिएको निर्वाचन प्रक्रिया अन्यौलमा परेको छ । नेविसंघको महाधिवेशन सम्पन्न गर्न कांग्रेसले गठन गरेको निर्देशक समितिले मंगलबार राति विवाद मिलाएको थियो । तर, फेरि विवाद देखिएको छ । सहमति विपरीत १० भन्दा बढी प्रतिनिधि थपिएको गुनासो आएको समिति सदस्य गुरुराज घिमिरेले बताए ।

निर्वाचन समितिले मतदाताको नामावली प्रकाशन गर्ने तयारी गरेपछि नेविसंघका केही नेताले पत्रकार सम्मेलन गरी अनशनका नाममा फर्जी विद्यार्थीलाई प्रतिनिधि बनाउन लागिएको भन्दै महाधिवेशन बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

असन्तुष्ट समूहले पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा पनि फर्जी विद्यार्थीलाई प्रतिनिधि बनाउन पाइँदैन, भागबन्डामा महाधिवेशन गर्न पाइँदैन भनी नाराबाजी गरेका छन् । यस्तै कांग्रेस केन्द्रीय कार्यालयमा पनि नाराबाजी भएको छ ।

कांग्रेस केन्द्रीय सदस्य एवम् निर्देशक समितिका सदस्य प्रदीप पौडेल समितिको बैठकमा भएको सहमतिअनुसार चले समस्या नआउने बताउँछन् । ‘समस्या समाधान गर्न आज दिउँसो निर्देशक समिति संयोजक डा प्रकाशशरण महतले डाक्नुभएको बैठकमा समिति सदस्यद्वय गोविन्द भट्टराई र गुरुराज घिमिरे नै उपस्थित हुनुभएन, हामी सहमतिबाटै समस्या समाधान गर्नुपर्ने पक्षमा छौं, उनले भने ।

निर्वाचन समिति संयोजक भरतप्रसाद खरेलका अनुसार ५ बजे प्रकाशन गर्ने भनिएको नामावली टाँस गर्न सकिएन । निर्देशक समितिले नाम दिनेबित्तिकै निर्वाचन कार्यक्रमको प्रक्रिया अघि बढ्ने उनले बताए ।

साउन २५ गते सम्पन्न गर्ने भनिएको सङ्घको ११औँ महाधिवेशन प्रतिनिधि विवादका कारण एक साताभन्दा बढी समय लागेपछि जिल्ला जिल्लाबाट आएका प्रतिनिधि समस्यामा परेका छन् । साउन २३ गते उद्घाटन भएको महाधिवेशनको अझै बन्दसत्र सुरु हुन सकेको छैन । बन्दसत्र नगरी निर्वाचन कार्यक्रम अघि बढाउने निर्देशन समितिले जनाएको छ ।

विसं २०६४ पछि सङ्घको महाधिवेशन भएको छैन । सात पटक मिति तोकेर पनि विविध कारणले ११औँ महाधिवेशन स्थगित हुँदै आएको थियो । आठौं पटक पनि महाधिवेशनले नेतृत्व छनोट गर्नेमा शङ्का उत्पन्न भएको छ ।

प्रतिक्रिया