भारत, विहारको कटिहारबाट चार दिनअघि अपहरणमा परेकी ५ वर्षीया बालिका स्पर्श(छवि) अग्रवाललाई मोरङको पथरीबाट सोमबार विहान अपहरणमुक्त गराइएको छ। कटिहारको कुरसेलास्थित स्कुलबाट घर फर्किरहेकी बालिका अग्रवालको अपहरणमा संग्लन रहेको आशंकामा कटिहार प्रहरीले विहारका पूर्व सांसद नरेश यादवको छोरा सन्तोष यादव र कटिहारकै तेजाटोलाका सुनिल सिंहलाई पक्राउ समेत गरेको छ। अपहरित बालिकाका बुवा भानु अग्रवालले फिरौती वापत २५ करोड रुपैयाँ सन्तोषले नै फोन गरेर मागेको दाबी गरेका छन्।
पूर्व क्षेत्र प्रहरी कार्यालय, विराटनगरको अनुसन्धान ब्यूरो र सुनसरी प्रहरीको संयुक्त अपरेशन टोलीले बालिका अग्रवाललाई पथरी–४ स्थित रिता साहको घरबाट अपहरण मुक्त गराइएको हो।
पूर्व क्षेत्र प्रहरी कार्यालय स्रोतले क्षत्रीय प्रहरी र सुनसरी प्रहरीको संयुक्त टोलीले अग्रवाललाई अपहरण मुक्त गराएको र यो केसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको सहभागिता नरहेको बताएको छ ।
कटिहारको एनविआर स्कुलमा केजीमा पढ्दै गरेकी बालिका अग्रवाललाई चार दिनअघि अपहरण गरिएको थियो। अग्रवाललाई कटिहारबाट अपहरण गरी सुनसरीको बाटो हुँदै नेपाल ल्याइ पुर्याएको भारतीय प्रहरीको सूचनाको आधारमा नेपाल प्रहरीले उनको खोजीकार्य तीव्र पारेको थियो। अपहरणमा संग्लनता देखिएको सुनसरीका एकजनालाई प्रहरीले पक्राउ समेत गरेको छ ।
बलिका अग्रवालको अपहरण लगत्तै उनको परिवारसँत फिरौती वापत ५ करोड भारतीय रुपैयाँ सुरुमा मागिएको थियो। पछि, बार्गेनिङ बढाउँदै अपहरणकारीले २५ करोड रुपैयाँको माग गरेका थिए ।
नागरिकका अनुसार कटिहार प्रहरीले बालिका अपहरणमा फिरौती मागेको र रक्सी सेवन गरेको आरोपमा दुबैलाई शनिबार नै जेल चलान गरिसकेको समाचार हिन्दुस्तान दैनिकमा छ । कटिहार प्रहरीका एसपी सिद्धार्थ मोहन जैनले पूर्व सांसद यादवको छोरा सन्तोषको मोवाइल सिम जफत गरेर अनुसन्धान भइरहेको जनाएको छ ।