फिल्म ‘छक्कापन्जा’ लिक गरेको आरोपमा कलाकार दीपकराज गिरीले केही महिनाअघि एक युवकलाई मानसिक तनाव दिएपछि तिनले आत्महत्या नै गरे । त्यसो त दीपकराज पाइरेसी नगर्न अरुलाई समेत उपदेश दिँदै आफ्नो फेसवुकमा लेखेका थिए, ‘नेपाली सिनेमा हात पर्यो, तुरून्तै सेयर गरिदियो, अनि पर्यो फन्दामा ।यस्तै गर्नाले ४ जना केटा प्रहरीको फन्दामा परेका छन् । कृपया यस्तो काम गरेर लाखौँ रूपियाँ जरीवाना पर्न र कानूनको फन्दामा पर्नबाट बचौँ ।’
सृजना चोरी नगर्न अरुलाई उपदेश दिएको १ बर्ष नपुग्दै उनै गिरीले भने पुराना सर्जक कान्छा मगर नेपालीको सृजना चोरेर आफ्नो फिल्ममा प्रयोग गरे । ‘छक्कापन्जा–२’ मा उनले प्रयोग गरेको ‘ए कान्छा नसमाउ नाडीमा’ बोलको लोकगीत निकै पुरानो हो । कान्छा मगर नेपालीले गाएको पुरानो लोकगीतलाई फिल्मको ब्यानरमा गिरीले आफ्नै ‘शब्द रचना’ को रुपमा प्रयोग गरेका छन् । अनौठो त के भने गिरीले उक्त गीत चोरी गरेको कुरा स्विकार गरेका छैनन् । बरु संगीतकार अल्मोडा राना उप्रेतीलाई आरोप लगाएर उम्किन खोजेका छन् ।
छक्कापन्जाले चोरेको अरिजिनल गीत”नसमाऊ नारीमा”
https://youtu.be/yW_KGiB7aUM
गिरीको विरोधाभाषपूर्ण स्पष्टिकरण
गिरीले कान्छा नेपालीको गीतलाई आफ्नो नाममा प्रयोग गर्दै फिल्मको ब्यानरमा राखेपछि नेपालीका नाती श्याम नेपालीले चोरी भएको कुरा उठाए । उनले उक्त गीतको ओरिजिनल गीत नै सार्वजनिक गरिदिएपछि गिरीमाथि अनेक टिप्पणी भयो । थुप्रैले आरोप पनि लगाए ।
गिरीले आफ्नो बचाउ गर्न अनेक प्रयत्न गरे । उनले यसका संगीतकार अल्मुडा राना उप्रेतीले यसबारे आफूलाई जानकारी नदिएर अँध्यारोमा राखेको बताए । अल्मुडाले यस विषयमा धोका दिएको गिरीको जिकिर थियो ।
पत्रकारहरुसँग गिरीले आफ्नो गल्ती ढाकछोप गर्न सकेनन् । उनले के पनि बोले भने, ‘यो संकलन हो । कसैको निजी गीत हैन । यसलाई नयाँपन दिएँ मैले ।’ गिरीले यति फितलो तर्क गर्दै बिरोधाभाषपूर्ण भाषा बोले । यद्यपी आफ्नो बचाउ गर्न नसकेपछि गिरीले सर्जकको नाम फिल्मको ब्यानरमा राखिदिने आश्वासन दिएका छन् ।
संगीतकार अल्मुडा राना उप्रेतीले भने उक्त गीतको विषयमा छक्कापन्जा फिल्म टीमलाई पहिले नै जानकारी भएको बताउँछन् । गिरीले यसअघि दिएका अन्तरवार्ताको क्रममा फरक फरक र आपसमा बाझिने प्रतिक्रिया दिएका छन् । कसैसँग ‘आफ्नै सृजना’ भएको बताएका छन् भने कसैसँग ‘सानैदेखि सुन्दैआएको पुरानो लोकगीत’ भएको बताएका छन् । यतिसम्म की, कसैको सृजना भएको कुरा ‘अल्मुडाले नभनेर धोका दिएको’ पनि उनको आरोप छ ।
अन्ततः वास्तविक गायक कान्छा नेपालीका पनाती प्रिन्सलाई गीतको क्रेडिट दिने कुरा पनि गरेका छन् । यी फरक प्रतिक्रियाका बीच वास्तविकताबाट गिरी भाग्न खोजिरहेको प्रष्ट देखिएको छ । यति हुँदा हुँदै गिरीले फिल्मको ब्यानरमा गीतकारको नामबाट आफ्नो नाम भने हटाएका छैनन् । छक्कापन्जाका लागि तयार पारिएको उक्त गीत युट्युवमा चर्चित त बनेको छ । तर गिरीलाई भने सामाजिक संजालमा थुप्रै नकारात्मक टिप्पणी आएका छन् ।
उनकै कारण केही महिनाअघि एक युवकले ज्यान गुमाउनु पर्यो । गिरी आफैँले पाइरेसी नगर्न आम मानिसलाई धम्कीपूर्ण भाषामा उपदेश पनि दिए । अन्ततः आफैँले लोकप्रीयताको लागि गीत चोरी गरेर आफ्नो बनाउने प्रयास गरे ।-नेपालीपत्रबाट