पोखरा, ८ असार २०८३।
पोखरा महानगरपालिका–६ बुलौदीस्थित ओरालो सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने एक युवती गम्भीर घाइते भएकी छन्।
लेकसाइडस्थित हल्लनचोकबाट जिरोकिमितर्फ जाँदै गरेको ग ९ प ९४२५ नम्बरको मोटरसाइकल शनिबार राति करिब ११:२० बजे अनियन्त्रित भई सडकको बीच भागमा रहेको डिभाइडरमा ठोक्किँदा दुर्घटनाग्रस्त हुँदा एक युवकको मृत्यु भएको हो भने एक युवती गम्भीर घाइते भएकी छिन्।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक पोखरा महानगरपालिका–३३ बागमारा निवासी २३ वर्षीय बिबस मल्ल ठकुरीको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उनको टाउको र छातीमा गम्भीर चोट देखिएको बताइएको छ।
मोटरसाइकलको पछाडि सवार सिन्धुलीको कमलामाई नगरपालिका–९ घर भई हाल काठमाडौंको मुलपानी बस्दै आएकी १७ वर्षीया रबिना ढुङ्गेल गम्भीर घाइते भएकी छन्। उनको टाउको र अनुहारमा चोट लागेको छ भने गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदाम तथा अस्थायी ट्राफिक प्रहरी पोस्ट बैदामबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। दुर्घटनाग्रस्त मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।