देउवाले ‘यस्तो ज्यादा नगर्नुस्’ भनेपछि गले ओली

देउवाले ‘यस्तो ज्यादा नगर्नुस्’ भनेपछि गले ओली


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ७ जेष्ठ २०८२
  • 5.9K
    Shares

पोखरा, ७ जेठ २०८२।

माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार गभर्नर नियुक्ति बिबादले ढल्ने आंकलन गरिरहेका थिए। तर सरकारले गभर्नरमा डा. विश्व पौडेल नियुक्त गरे पछि भने केपी शर्मा ओली नेतृत्वको एमाले – कांग्रेस गठबन्धन सरकार आगामी तीन महिनाका लागि सुरक्षित भएको टिकाटिप्पणीहरु हुन थालेका छन्।

सत्तारुढ गठबन्धनमा भएको राजनीतिक भागबण्डामा गभर्नर पद नेपाली कांग्रेसको भागमा परेको समाचार स्रोतहरु बताउछन। तर प्रम ओली नेपाली कांग्रेसलाई गभर्नर पद दिन तयार नभएका कारण करीब एक महिनासम्म गभर्नर नित्युक्ति रोकिएको बताइएको छ।

गभर्नर नियुक्ति गर्न प्रम ओलीले ढिलाई गरे पछि उनलाई सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको थर्काएको समाचार स्रोतहरुले जानकारी दिएका छन्।

वैशाख ३ गते नै देउवाले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउन ओलीलाई नाम दिएका थिए। तर, ओलीले अटेर गर्दै लगे। यद्यपि, भट्टले वैशाख ५ गते कार्यकारी निर्देशकबाट दिएको राजीनामा राष्ट्र बैंककै कायममुकायम गभर्नर नीलम ढुङ्गानाले स्वीकृत नगरेको कारण नियुक्त गर्न समस्या भएको ओलीले देउवा समक्ष बताएका थिए।

जबकि, देउवा साताव्यापी उपचारका लागि बैंकक गएका थिए। यता भट्टको राजीनामा स्वीकृत पनि भएन र गभर्नर नियुक्ति गर्ने सिफारिस समितिको बैठक पनि बसेन। यसले कांग्रेस नेताहरू असन्तुष्ट बन्दै गए।

देउवा स्वदेश फर्किएपछि वैशाख १३ गते ओली भेट्न बालुवाटार गए। देउवाले गभर्नर नियुक्तिमा ढिलाइको कारण सोधे। ओलीले प्राविधिक कारणले रोकिएको जवाफ दिए।

अर्थमन्त्री पौडेलले पनि कायममुकायम गभर्नर नीलम ढुङ्गानाले कार्यकारी निर्देशक भट्टको राजीनामा स्वीकृत नगरेकैले रोकिएको सुनाए।

‘छिटो गर्नुप‍र्‍यो, ढिला गर्दा बाहिर सन्देश राम्रो जाँदैन,’ देउवाले भनेका थिए।

लगत्तै प्रधानमन्त्री ओलीले अर्थमन्त्री पौडेललाई नीलमसँग कुरा गरेर तत्काल भट्टको राजीनामा स्वीकृत गर्न निर्देशन दिए।

वैशाख १४ गते पौडेलले नीलमलाई बोलाएर भट्टको राजीनामा स्वीकृत गरेर पठाउन सुझाए। तर, नीलमले मानिनन्।

भट्टको राजीनामा कुनै हालतमा स्वीकृत नगर्ने उनले अड्डी कसिन्। बरु राष्ट्र बैंक छोड्न तयार रहेको बताइन्।

वैशाख २० र २१ गते फेरि ओली भेट्न देउवा बालुवाटार गए। गभर्नर नियुक्तिले पार्टीभित्र दबाब बढेको सन्देश लिएर पुगेका देउवासमक्ष ओलीले २४ गते भट्टको राजीनामा स्वीकृत गराएर २५ गते गभर्नर नियुक्त गर्ने समयसीमा दिए।

यही सन्देश लिएर देउवा फर्किए। सोही कुरा पार्टीका नेतालाई दिए।

वैशाख २५ गते पनि गभर्नर नियुक्ति त परैको कुरा, कार्यकारी निर्देशकबाट भट्टले दिएको राजीनामा समेत स्वीकृत भएन।

यसले देउवालाई झस्कायो। अनि फेरि ओली भेट्न गए बालुवाटार।

तर, यसपटक ओलीले कुरा फेरे। भट्टलाई गभर्नर बनाउन नसकिने भयो भन्दै ओलीले देउवा समक्ष नयाँ नाम दिन आग्रह गरे। यद्यपि, त्यसमा भट्टलाई नै गभर्नर बनाउन कोसिस गर्ने पनि उल्लेख थियो।

वैशाख २६ गते पार्टीको पदाधिकारी बैठकमा देउवाले ओलीबाट आएको नयाँ विकल्पबारे ब्रिफिङ गरे।

तथापि, गुणाकरलाई नै बनाउन अन्तिमसम्म जोड गर्नेमा उनीहरू पुगे।

भट्टको राजीनाका स्वीकृत हुने सम्भावना कमजोर बन्दै गयो। वैशाख २७ गते देउवाले ओलीसमक्ष अर्थविद् डा विश्व पौडेललाई गभर्नर बनाउने नयाँ प्रस्ताव गरे।

अर्थमन्त्री पौडेल संयोजकत्वको गभर्नर सिफारिस समितिका विज्ञ सदस्य रहेका पौडेलको नाम आएपछि ओलीले मिलाएर गर्ने जवाफ दिए।

पौडेलले वैशाख २८ गते गभर्नर सिफारिस समितिबाट राजीनामा दिए।

तर, उनलाई पनि गभर्नर नियुक्त गर्न ओलीले ढिलाइ गरे।

११ दिनसम्म पनि गभर्नर नियुक्त नभएपछि ओलीसँग रुष्ट भएका देउवा मंगलबार बालुवाटार पुगे र निकै आक्रोश पोखेको उनीनिकट एक नेताले नेपालखबरलाई बताए।

एक घण्टाभन्दा बढी समय बालुवाटारमा बसेका देउवाले अधिकांश समय सरकारको कार्यशैलीमा समेत प्रश्न उठाए।

‘गभर्नर नियुक्ति धेरै गिजोल्नुभयो। तपाईंका कारण सरकार असफल हुँदैछ,’ प्रधानमन्त्रीसँग देउवाको भनाइ उद्धृत गर्दै उनी निकट एक नेताले भने, ‘यस्तो ज्यादा नगर्नुस्। गभर्नरको विषयलाई धेरै नगिजोल्नुस्।’

स्वास्थ्यमा समस्या आएको भन्दै बालुवाटारमै आराम गरिरहेका ओलीले मंगलबारका सबै कार्यक्रम स्थगित गरेका थिए। तर, बिहानै देउवा बालुवाटार पुगे।

आफ्नो पार्टीभित्रबाट सरकारको कार्यशैलीलाई लिएर विरोध भइरहेको र विकल्प सोच्न दबाब आइरहेको बेला आफू यही गठबन्धन जोगाउन लागेको देउवाले ओलीलाई सम्झाए।

‘सरकारको काम गर्ने शैली पनि चित्तबुझ्दो भएको छैन। मेरो चाहना यो सहकार्य निरन्तर गर्ने हो। तर, तपाईंले पनि काम ठिक गर्नुप‍र्‍यो भनेर देउवाले भन्नुभएछ,’ ती नेताले भने।

ती नेताका अनुसार सरकार बनेयता प्रधानमन्त्री ओलीसँग पहिलोपटक देउवा कडा रूपमा प्रस्तुत भएका हुन्।

‘तपाईंका पछिल्ला केही व्यवहारले सरकार दिन प्रतिदिन बदनाम हुँदै गएको छ, कोलिसन गभर्मेन्ट यसरी चल्दैन, यो सुधार गर्नुपर्छ, सुधार गरेर जाने कि यसमा पनि गिजोल्ने र ढिलाइ गर्ने?’ देउवाले प्रधानमन्त्री ओलीलाई सोधे।

आफूले प्रस्ताव गरेको नामका विषयमा अदालततिर खेल भएको भन्दै देउवाले असन्तुष्टि जनाए।

‘राम्रै, योग्य व्यक्ति दिएपछि फेरि कानुनी झन्झट निकालिएको छ, यसलाई मिलाउनुपर्‍यो, भोलि समस्या नआउनेगरी, कानुनी जटिलता नहुनेगरी निर्णय गराउनुपर्‍यो,’ देउवाले भने।

त्यसपछि ओलीले गभर्नर नियुक्ति आजै टुंगो लगाउने जवाफ फर्काए।

देउवाले दोस्रोपटक नाम दिएका अर्थविद् डा. विश्व पौडेललाई गभर्नर बनाउन तयार रहेको ओलीले बताए।

त्यहीँबाट अर्थमन्त्री विष्णु पौडेललाई फोन गरेर सिफारिस समितिको बैठक राख्न निर्देशन दिए।

त्यसपछि देउवा निस्किए। लगत्तै विष्णु पौडेलले सिफारिस समितिको बैठक बोलाए।

अपरान्ह ४ बजे सिफारिस समितिको बैठक बस्यो। जसले पौडेलसहित ३ जनाको नाम सिफारिस गर्‍यो। र, साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्‍यो।

प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीले ओली–देउवाबीचको भेटपछि सरकारका विषयमा देखिएका अन्योल हटेको बताए।

देउवाका सहयोगी भानु देउवाले गभर्नर नियुक्ति समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्री ओली र प्रधानमन्त्रीबीच छलफल भएको बताए।

एमालेका मुख्य सचेतक महेश बर्तौलाले दुई नेताबीच लामो समय चलेको छलफल अन्य विषयमा समेत प्रवेश गरेको उल्लेख गरे।

‘लामै समय उहाँहरूबीच छलफल भयो। धेरै विषयमा छलफल भयो। बाहिर आइरहेका चर्चा–परिचर्चाका विषयमा छलफल भयो,’ बर्तौलाले ओली र देउवाबीच सरकार र गठबन्धनका विषयमा समेत छलफल भएको संकेत गर्दै भने। नेपालखबरबाट साभार

प्रतिक्रिया