म्याग्दीको महभिरमा पहिरोले EV गाडी पुरियो : चालकको मृत्यु

म्याग्दीको महभिरमा पहिरोले EV गाडी पुरियो : चालकको मृत्यु


  • जनसञ्चार डट कम संवाददाता
  • बुधबार, १० असार २०८३
  • 1.3K
    Shares

म्याग्दीको महाभिरमा खसेको पहिरोले ईभि गाडी पुरियो

पोखरा, १० असार २०८३।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरस्थित बेनी–जोमसोम सडकखण्डमा पहिरो खस्दा EV गाडी पुरिएर चालकको मृत्यु भएको छ।

कोरला नाकाबाट नेचुङ भन्सार हुँदै जोमसोमबाट पोखरातर्फ जाँदै गरेको र हाल नम्बर नखुलेको EV गाडी पुरिएर चालक पर्साको वीरगञ्ज महानगरपालिका–२१ निवासी २३ वर्षीय सोहेल मियाको मृत्यु भएको हो।

बुधबार राति करिब ८ बजे ढुङ्गा–माटोसहितको पहिरो खस्दा नम्बर नखुलेको EV गाडी पुरिएको प्रहरीले जानकारी दिएको छ। पहिरोमा पुरिएको EV गाडी झिक्ने क्रममा जिल्ला प्रहरी कार्यालय म्याग्दी र सशस्त्र प्रहरी बल गुल्म म्याग्दीबाट संयुक्त उद्धार टोलीले गाडीभित्र फसेका चालक मियालाई बाहिर निकालेर उपचारका लागि प्रदेश अस्पताल बेनी पुर्‍याएको थियो। तर अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

बेनी–जोमसोम कालीगण्डकी करिडोर अन्तर्गत भीरकाटे क्षेत्रमा सडक चौडा पार्न विस्फोटन गरी काम भइरहेको थियो। विस्फोटनपछि स्काभेटरले सडक सफा गरी दुईतर्फी सवारी सञ्चालन खुलाइएको अवस्थामा जोमसोमबाट पोखरातर्फ जाँदै गरेको गाडीमाथि पूर्ण रूपमा नहटाइएको पहराको भाग भत्किएर खसेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।

प्रतिक्रिया