पोखरा, ११ असार २०८३।
कैलालीमा फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका एक हुद्दाको मृत्यु भएको छ भने एक सहसेनानी (क्याप्टेन) घाइते भएका छन्।
मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन भइरहेको फायरिङ अभ्यासका क्रममा बिहीबार बिहान ग्रिनेड विस्फोट हुँदा बिस्फोटमा परी गम्भीर घाइते बनेका नेपाली सेनाका हुद्दा हिमाल विक्रम विष्टको उपचारका क्रममा मृत्यु भएको हो भने सहसेनानी हिमराज जोशी पनि छर्रा लागेर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार, जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन भइरहेको फायरिङ अभ्यासका क्रममा बिहीबार बिहान ग्रिनेड विस्फोट भएको हो। विस्फोटमा परी नेपाली सेनाका हुद्दा हिमाल विक्रम विष्ट गम्भीर घाइते भएका थिए। उनको दाहिने हातको हत्केला तथा शरीरका विभिन्न भागमा छर्रा लागेको थियो। उपचारका लागि लम्कीस्थित लालरत्न अस्पताल लगिएकोमा दिउँसो करिब १२ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनामा नजिकै रहेका सहसेनानी हिमराज जोशी पनि छर्रा लागेर घाइते भएका छन्। प्रहरीका अनुसार उनको अवस्था सामान्य रहेको छ। थप उपचारका लागि उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ।
सुदूरपश्चिम पृतना अन्तर्गत गोराङ्गे ब्यारेकबाट फायरिङ अभ्यासका लागि खटिएको टोलीले तालिम सञ्चालन गरिरहेका बेला विष्ट ग्रिनेड पड्काउने क्रममा दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।
घटनाबारे नेपाली सेना र सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेका छन्।