पोखरा , २९ पुष २०८२।
पाेखराकाे पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भित्र नेतृत्वले बहुमतको दम्भ देखाएको र आर्थिक अपारदर्शिता बढाएको भन्दै स्ववियु सदस्य विवेक तिमल्सिनाले स्ववियु कार्यालयमा तालाबन्दी गरेका छन् ।
सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले स्ववियु नेतृत्वले अल्पमतको आवाज दबाएको, लोकतान्त्रिक अभ्यासलाई लत्याएको र आर्थिक गतिविधि शंकास्पद बनाएको आरोप लगाएका हुन् । विद्यार्थीको सर्वोच्च प्रतिनिधिमूलक संस्था स्ववियु आफ्नो मूल उद्देश्य र गरिमाबाट विचलित भएको पनि विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा स्ववियुभित्र रहेका विभिन्न विद्यार्थी संगठनको सहअस्तित्वलाई स्वीकार नगरिएको र गम्भीर विषयमा छलफल नै नगरी निर्णय थोपर्ने गरिएको दाबी गरिएको छ । नेपाल विद्यार्थी संघबाट निर्वाचित सदस्य तिमल्सिनाले भनेका छन्, ‘बहुमतको नाममा स्ववियुका पदाधिकारी तथा सदस्यले अल्पमतको आवाजलाई सुनिनै नदिने र प्रश्न गर्नेलाई दमन गर्ने संस्कार विकास गरिएको छ । स्ववियु कुनै एक संगठनको निजी सम्पत्ति होइन ।’
स्ववियुको नाममा भइरहेका आर्थिक क्रियाकलाप अपारदर्शी भएको भन्दै उनले छानबिनको माग गरेका छन् । आर्थिक अपचलनका विषय उठाउँदा उल्टै धम्क्याउने र भय सिर्जना गर्ने कार्य भइरहेको उनको आरोप छ ।
विज्ञप्तिमा भनिएको छ, ‘आर्थिक कारोबारको विषयमा क्याम्पसद्वारा एक स्वतन्त्र र निष्पक्ष समिति गठन गरी छानबिन गरियोस् । समितिको प्रतिवेदन नआएसम्म स्ववियुका नाममा हुने सम्पूर्ण आर्थिक गतिविधि बन्द गरिनुपर्छ ।’
तालाबन्दी गर्दै तिमल्सिनाले स्ववियु नेतृत्व र क्याम्पस प्रशासनलाई गम्भीर हुन चेतावनी दिएका छन् । उनले लोकतान्त्रिक अभ्यासको पुनःस्थापना र सबै सदस्यको सम्मानजनक सहभागिता सुनिश्चित नभए आन्दोलन थप सशक्त हुने बताएका छन् । ‘विद्यार्थी अब मौन छैनन्, स्ववियुको नाममा भइरहेका गलत अभ्यासहरू स्वीकार्य हुने छैनन्,’ उनले चेतावनी दिँदै भनेका छन्, ‘यस तालाबन्दीबाट सिर्जना हुने परिस्थितिको सम्पूर्ण राजनीतिक र नैतिक जिम्मेवारी बहुमतको दुरुपयोग गर्ने नेतृत्वले लिनुपर्नेछ ।’ पृथ्वीनारायण क्याम्पसको स्ववियुमा एमाले निकट अनेरास्ववियुको बहुमत छ ।