मोलमाेलाइमा सम्बन्ध

मोलमाेलाइमा सम्बन्ध


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १६ साउन २०७४
  • 8K
    Shares

कञ्चन थापा

दिनप्रति दिन बढ्दै गएको सम्बन्धबिच्छेदका कहानीहरू आकाल घरघरका कहानी बन्न थालेका छन् । वैवाहिक सम्बन्ध तोडिनु निकै साधारण विषय बन्न थालिसक्यो । जति–जति समाज आधुनिक र शिक्षित हुँदैछ औपचारिक सम्बन्धका गाँठाहरू उति खुकुलो हुँदैछन् । हिजो हिंसा सहनु कर्मको फल भन्नेहरू आज हिँसा अपराध हो भन्ने बुझाइले पनि सम्बन्धबिच्छेद हुँदैछ । अर्कातिर एक अर्काप्रतिको समझदारीमा परेको खडेरीले पनि सम्बन्धबिच्छेदलाई बढाइरहेको छ ।

हुनत सँगै बसेर दु:खी हुनुभन्दा छुटिएर खुसी हुनु कैयौं गुणा बेसभन्ने तर्क पनि आफैमा नराम्रो छैन । जहाँ सम्बन्धले सुमधुर र आत्मीयता अनि सम्मान छोडेर लोग्ने स्वास्नीको औपचारिक शब्दमा मात्र देखा पर्छ त्यो सम्बन्धको अन्त्य श्रेयस्करनै हुन्छ । यद्यपि आजकालको सम्बन्धबिच्छेदका कतिपय घटनाको साक्षी भएको नाताले सम्बन्धको मोलमोलाइले बढी प्राथमिकता पाउन थालेको हो कि भन्ने भान भने हुन थालेको छ ।

आँखाका नानीजस्ता दुई छोरी, दुवै जागिरे, बाहिरबाट हेर्दा यति रमाइलो र मिलेको परिवार सायदै हुन्छ होला तर,भित्री संसार कहालीलाग्दो हरेक पलले यो परिवारको खुसी पनि टिकेन ।

विकल्पको आधारनै अर्थसँग जोडिएर पनि होला कतिपय सम्बन्ध सहजै तोडिएर पैसाको मोलमोलाइबाट निचोडमा पुगेको देख्दा यस्तो निष्कर्ष निकाल्न सकिन्छ ।

तीन वर्षअघिमात्र धुमधामले बिहे गरेकी सीता थापा (नाम परिवर्तन) ठूलो इच्छा आकांक्षा साथ जन्मघर छोडेर कर्म घर भित्रिएकी थिइन् । एक वर्ष त जिन्दगी रमाइलोसँग बित्यो त्यसपछि सीताका इच्छा आकांक्षाहरू बिस्तारै भत्किन थाले, रंगीन जीवनमा तुँवालो लाग्न थाल्यो । वैचारिक मतभेदबाट सिर्जित द्वन्द्वले चरम रुप लियो । अन्ततः एक अर्काबाट टाढिने निर्णयमा पुगे ।

अलग हुँदा सीताले आफ्नो सुरक्षित भविष्यका लागि भनेर श्रीमान्‌को अगाडि सर्त राखिन् । सोझै भन्नु पर्दा पैसाको माग राखिन् । हुने खाने नभएपनि उनको सर्त अनुरुप दशलाख ऋण खोजेरै भएपनि उनका श्रीमान्‌ले दिए । उनीहरू कानुनी रुपमा अलग भए । तोडिएको सम्बन्धबाट प्राप्त रकमबाट अहिले उनी कति सन्तुष्ट छिन् वा बाँकी जीवनको यात्रालाई कसरी अगाडि बढाउँदै छिन् । त्यो उनको व्यक्तिगत कुरा भयो ।

सीताको जस्तै अर्को कथा छ दस वर्ष अगाडि विवाह गरेकी अर्चना गुरुङको (नाम परिर्वतन ) पनि पोखरामा  जीवनयापन गरिरहेका यो जोडीको सम्बन्ध पनि अगाडि बढ्न सकेन । राम्रो जागिर, मनग्य आम्दानी, पोखरामा घर, घडेरी बैक ब्यालेन्स ।

आँखाका नानीजस्ता दुई छोरी, दुवै जागिरे, बाहिरबाट हेर्दा यति रमाइलो र मिलेको परिवार सायदै हुन्छ होला तर,भित्री संसार कहालीलाग्दो हरेक पलले यो परिवारको खुसी पनि टिकेन । प्रोजेक्टमा जागिरे अर्चना कामको सिलसिलामा बाहिर हिँडनुपर्ने विभिन्न व्यक्तिसँग बोल्नु पर्ने हुँदा उनका श्रीमान शंकालु बन्न थाले । विभिन्न आरोप प्रत्यारोपले परिवार बीचको आत्मियतालाई चुडाल्दै लग्यो । अन्तत ती दुई बालसुलभछोरीहरुको भविष्यप्रतिदुवैले आँखा चिम्म गरेर आफ्नो अधिकार र स्वतन्त्रताको दुहाई दिन थाले अन्ततः छोरीहरु अभिभावकको माया र ममताबाट बञ्चित भए ।

कानुनी रुपमा पुग्नु भन्दा अगाडि छोरीको भविष्य भन्दै आर्थिक माग बढ्न थाल्यो । घर र केही ब्यालेन्सले दशकको सहयात्रालाई तोडिदियो ‘खै सम्बन्ध पैसाले तान्यो या पैसाले सम्बन्धलाई’ तर नाबालिकाको मनोभावलाई भने नराम्रोसँग झट्कालाग्यो । आमा र बाबाको यो जुँधाइमा घुन जस्तो बने छोरीहरू ।

बीस वर्ष अघि अन्तरजातीय प्रेम विवाह गरेकी सपना सापकोटा यतिखेर झसङ्ग भएकी छिन् ।पन्ध्र वर्षअघि विदेशिएका श्रीमान् घर आउँदा सौतालिएर आए । सत्र वर्षका लक्का जवान छोेराकी आमासँग अब श्रीमान् बस्न चाहेनन्। सम्बन्धको नयाँसूत्रमा रमाइरहेका उनी सम्पत्ति दिएर सम्बन्ध तोड्न चाहान्छन् । पन्ध्र वर्षपछिको श्रीमान्‌को माया र साथको आस गरेकी सपनालाई अब उसका श्रीमान्‌ले ८० लाखमा आफूसँगै बाँधिएको दाम्लो छिनाल्ने निर्णय गरेका छन् । सपनाको खोसिएको माया पुनः नफर्केने भएपछि ८० लाखमा सम्बन्धलाई तिलाञ्जली दिन उनी पनि बाध्य भएकी छिन् ।


श्रीमान्‌ले छोएको हरेक अंगको मोल तिर्न सक्छ ? कागजी रुपमा सही गरेर उसले गरेको हरेक स्पर्शलाई बिर्साउन सक्छ ?


यी केही प्रतिनिधि घटना जो आफ्नै अगाडि पैसाको मोलमोलाई हुँदै सम्बन्ध तोडिएका छन् । कुनै एक कारणले मात्र नभई विभिन्न कारणहरुले सम्बन्धलाई टुटाइरहेको छ । दिनप्रति दिन हरेक सम्बन्ध यस्तै माहोल परिवेशबाट गुज्रिएको देखिन्छ । अदालतमा हरेक दिन दुईतिर फर्किएका मनहरु देखिन्छन् । सम्बन्धको मोलमोलाइमा चित्त बुझे क्षणभरमै टुंगिन्छ सम्बन्ध ।

जहाँ न्यायको आस गरिन्छ त्यहाँ पैसा हाबी भइदिन्छ र न्यायले भन्दा पैैसाले आत्मसन्तुष्टि मिलेको देखिन्छ । सायद जिउनका लागि न्यायालयको न्याय भन्दा बढी पैसाको हुने भएर पनि होला। यसरी लेखिरहँदा कसैले भनेको कुरा सम्झन्छु ‘एउटा कागजमा गरेको सहीले मनको अन्तरंगसँग जोडिएको सम्बन्ध कसरी बिछोड हुन सक्छ ?

श्रीमान्‌ले छोएको हरेक अंगको मोल तिर्न सक्छ ? कागजी रुपमा सही गरेर उसले गरेको हरेक स्पर्शलाई बिर्साउन सक्छ ? कदापि सकिँदैन तर पनि सिरियलका कहानी जस्तै सजिलै तोडिँदैछन् सम्बन्धहरू । अग्निको पवित्र कुण्ड र सिन्दुरको धुलो हुँदै मनबाट आत्मीयता बढाएको सम्बन्ध क्षणभरमै कागजमा सही छाप गर्दै पैसाको मोलमोलाइबाट अन्त हुँदैछन् सम्बन्धहरू ।

(लेखक थापा पोखरा, कास्कीबाट प्रसारण हुने माछापुच्छ्रे एफ एम की स्टेशन म्यानेजर हुन्)

प्रतिक्रिया