आस्था नेपाली,पोखरा/ रोट्रयाक्ट क्लव अफ पोखरा लेकसाइडले शुक्रबार आफ्नो चार्टर सेरोमनी पोखराको फेवातालमा डुंगामाथि सम्पन्न गर्दै संस्थापक कार्यसमितिको पदस्थापन समेत गरेको छ । तालमाथि कार्यक्रम नै सम्पन्न भएको यो पहिलो हो।
कार्यक्रमको उद्घाटन गर्दै कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले नेतृत्वको कुशलतामा नै समाज र विश्वको प्रगति अडिएकाले नेतृत्व विकासमा आजका युवाहरुले मेहेनत गर्नुपर्ने बताए । उता क्लवको मातृ क्लव रोटरी क्लव अफ पोखरा लेकसाइडका संस्थापक अध्यक्ष तथा पोखरा उपत्यका नगर विकास समितिका सभापति सुन्दर कुमार श्रेष्ठले तालको संरक्षण नै पोखराको विकासको सबैभन्दा प्रमुख एजेण्डा भएकाले पोखराका युवाहरुको ध्यान त्यस तर्फ जानु अत्यावश्यक रहेको औंल्याए ।
कार्यक्रममा क्लवको स्मारिका “पाइला” को प्रथम अंकको पनि विमोचन भएको थियो । कार्यक्रमको उद्घाटनका अवसरमा प्रमुख अतिथि अधिकारी तथा सभापति श्रेष्ठले फेवातालमा एक हजार वटा माछाको भुरा छाडेका थिए ।
फेवातालको हल्लनचोक स्विमिङ्ग पुल घाटमा सम्पन्न कार्यक्रममा चारवटा पेडल बोट र बीसवटा सामान्य डुंगामा गरी एक सय जनाले सहभागिता जनाएका थिए । पेडल बोटहरुलाई स्टेजका रुपमा प्रयोग गरिएको थियो भने सामान्य डुंगाहरुमा सहभागीहरु बस्ने व्यवस्था मिलाइएको थियो ।