पोखरा, १३ भदौ २०८३।
रसुवामा आएको बाढीले बगाएर त्रिशूली नदी किनारमा फेला परेका शव पहिचान गर्न पोखरा आएका ४७ जना आफन्तलाई विभिन्न होटलमा बस्ने व्यवस्था मिलाइएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा पोखरा महानगरपालिका–६ लेकसाइडका विभिन्न होटलमा उनीहरूको खाना तथा बसोबासको प्रबन्ध गरिएको हो।
रसुवामा भदौ १० गते आएको बाढीले बगाएर ल्याएका शव त्रिशूली नदी किनारमा फेला परेपछि पहिचानका लागि मृतकका परिवार तथा आफन्त पोखरा आएका हुन्। फेला परेका शव पोखरा महानगरपालिका–१० रामघाटस्थित पश्चिम क्षेत्रीय अस्पतालमा राखिएका छन्।
शव पहिचानका लागि आएका परिवार तथा आफन्तलाई शनिबार राति करिब ११ बजे लेकसाइडका विभिन्न होटलमा राखिएको हो।
लेकसाइडको स्ट्रिट नम्बर ८ स्थित होटल डेभाजुमा हेटौंडाबाट आएका उपकार खड्कासहित १२ जना बसेका छन्। उनीहरू उद्धब खड्काको शव पहिचानका लागि पोखरा आएका हुन्।
त्यस्तै, स्ट्रिट नम्बर १७ स्थित होटल मिडल प्वाइन्टमा सिन्धुपाल्चोकका उमेश नेपालीसहित ६ जनालाई राखिएको छ। उनीहरू पहिचान हुन नसकेको शवको सनाखतका लागि पोखरा आएका हुन्।
स्ट्रिट नम्बर १७ कै होटल किङफिसरमा पाल्पाका बाबुराम खत्रीसहित ८ जना बसेका छन्। उनीहरू पनि पहिचान हुन नसकेका शवबारे जानकारी लिन पोखरा आएका हुन्।
अर्घाखाँचीका रोम कब्दार मगरसहित १५ जनालाई स्ट्रिट नम्बर २६ स्थित होटल कामनामा राखिएको छ। उनीहरू नारायण थापाको शव पहिचानका लागि पोखरा आएका हुन्।
यसैगरी, स्ट्रिट नम्बर १२ स्थित काभ्या बाटिका होटलमा इलामका सागर सुवेदीसहित ६ जनालाई राखिएको छ। उनीहरूले पनि पहिचान हुन नसकेको शवबारे जानकारी लिँदै सनाखतको प्रक्रिया अघि बढाइरहेका छन्।
कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार टाढाटाढाबाट शव पहिचानका लागि आएका पीडित परिवारलाई सहज होस् भन्ने उद्देश्यले बसोबासको व्यवस्था मिलाइएको हो।
‘शव पहिचान गर्न टाढाबाट आएका पीडित परिवारलाई कठिन नहोस् भनेर हामीले बस्ने व्यवस्था मिलाएका हौं,’ कार्कीले भने।
बाढीले बगाएर ल्याएका केही शव क्षतविक्षत अवस्थामा फेला परेकाले पहिचानमा समय लागेको प्रहरीले जनाएको छ। अस्पतालमा रहेका शवको कानुनी प्रक्रिया तथा सनाखत पूरा गरी सम्बन्धित आफन्तलाई बुझाउने तयारी भइरहेको छ।
यसका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले स्थानीय होटल सञ्चालकहरूसँग आवश्यक समन्वय र सहजीकरण गरिरहेको जनाएको छ।