पोखरा, १६ भदौ २०८३।
रोजगारीका लागि भारतको उत्तराखण्डस्थित अल्मोडा पुगेका दुई नेपाली युवाको घर भत्किँदा पुरिएर मृत्यु भएको छ।
मृत्यु हुनेमा कालिकोटको नरहरिनाथ गाउँपालिका–९ का ३५ वर्षीय चक्र दर्जी र ३४ वर्षीय डिल्ली दर्जी रहेका छन्।
वडाध्यक्ष प्रदीप बोहोराका अनुसार सोमबार राति अल्मोडामा परेको अविरल वर्षाका कारण उनीहरू बस्दै आएको कच्ची घर भत्किएको थियो। घर भत्किँदा सुतिरहेका चक्र र डिल्ली पुरिएका थिए। घटनामा दुवै जनाको मृत्यु भएको हो।
वडाध्यक्ष बोहोराले उनीहरू बस्दै आएको घर कच्ची रहेको र राति सुतिरहेका बेला अचानक भत्किएको जानकारी दिए।
मृतक चक्रका श्रीमतीसहित तीन छोरा छन् भने डिल्लीका श्रीमती, एक छोरा र दुई छोरी छन्। उनीहरू परिवारको आर्थिक अवस्था सुधार्ने र छोराछोरीको भविष्य सुनिश्चित गर्ने उद्देश्यले रोजगारीका लागि भारतको अल्मोडा पुगेका थिए।
दुवै परिवारको आर्थिक अवस्था कमजोर रहेको वडाध्यक्ष बोहोराले बताए। उनका अनुसार मृतकका सबै बालबालिका १६ वर्षभन्दा कम उमेरका छन्। अभिभावक गुमाएपछि उनीहरूको परिवारमा ठूलो संकट परेको छ।
मृतकका परिवारले दुवैको शव नेपाल ल्याएर आफ्नै गाउँमा अन्त्येष्टि गर्न चाहेका छन्। त्यसका लागि वडा कार्यालय र गाउँपालिकाले सम्बन्धित निकायसँग आवश्यक समन्वय तथा पहल गरिरहेको वडाध्यक्ष बोहोराले जानकारी दिए।
रोजगारीका लागि भारत पुगेका दुई नेपाली युवाको दुःखद मृत्युले उनीहरूको परिवारलाई मात्रै नभई गाउँलाई नै शोकमा डुबाएको छ।