रसुवाको बाढीपछि पुनःस्थापनाका लागि सरकारले सार्वजनिक गर्यो २१ दिने कार्ययोजना

रसुवाको बाढीपछि पुनःस्थापनाका लागि सरकारले सार्वजनिक गर्यो २१ दिने कार्ययोजना


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १६ भाद्र २०८३
  • 912
    Shares

काठमाडौं , १६ भदौः २०८३।

पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई सामान्य जनजीवनमा फर्काउन २१ दिने विशेष कार्ययोजनासहित कार्यदल गठन गरेको छ ।

मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै बाढी प्रभावित क्षेत्रमा प्रारम्भिक पुनःस्थापना तथा आवश्यक व्यवस्थापनका लागि कार्यदल गठन गरिएको जनाएको हो ।

कार्यदलले २१ दिनभित्र प्रारम्भिक पुनःस्थापनाका काम अघि बढाउने जिम्मेवारी पाएको छ । बाढीबाट क्षतिग्रस्त सडक, पुल, खानेपानी, पुनर्वास, सञ्चार र स्वास्थ्यलगायत अत्यावश्यक पूर्वाधारको क्षति पहिचान गरी पुनःस्थापनाको काम अघि बढाउन कार्यदलले सहजीकरण गर्नेछ ।

त्यसैगरी, कार्यदलले बाढीबाट भएको भौतिक तथा मानवीय क्षतिको प्राविधिक र वस्तुगत मूल्याङ्कन गर्नेछ । प्रभावित क्षेत्र तथा परिवारलाई जोखिमका आधारमा वर्गीकरण गरी तत्कालीन, अल्पकालीन र दीर्घकालीन कार्ययोजना तयार गर्ने जिम्मेवारी पनि कार्यदललाई दिइएको छ ।

पुनःस्थापनाका क्रममा ‘बिल्ड ब्याक बेटर’ अर्थात् पहिलेभन्दा सुरक्षित र बलियो संरचना निर्माण गर्ने सिद्धान्त अवलम्बन गरिने मन्त्रालयले जनाएको छ ।

कार्यदलले संघ, प्रदेश र स्थानीय तहसँगै सुरक्षा निकाय तथा निजी क्षेत्रसँग समन्वय गर्नेछ । स्रोतको दुरुपयोग र काममा दोहोरोपन हुन नदिन एकीकृत सूचना प्रणाली प्रयोग गरिनेछ ।

आवश्यक जनशक्ति, उपकरण तथा आर्थिक स्रोत व्यवस्थापनका लागि कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई नीतिगत तथा बजेटसम्बन्धी सुझाव र सिफारिस समेत दिनेछ ।

मन्त्रालयका अनुसार पुनःस्थापनाका क्रममा देखिएका समस्या र कामको प्रगतिको नियमित रिपोर्टिङ गर्ने जिम्मेवारी पनि कार्यदललाई दिइएको छ । साथै, भविष्यमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरणका लागि आवश्यक नीतिगत सुझाव समेत कार्यदलले दिनेछ ।

भोटेकोशी बाढीका कारण अस्तव्यस्त बनेको रसुवाको जनजीवनलाई छिटोभन्दा छिटो सामान्य अवस्थामा फर्काउने उद्देश्यले कार्यदल गठन गरिएको मन्त्रालयले स्पष्ट पारेको छ ।

प्रतिक्रिया