रसुवा । गोसाइँकुण्डका लागि यात्रु लिई काठमाडौंबाट उडेको मनाङ एयरको हेलिकप्टर केही बेर अगाडि अवतरणको क्रममा क्षति भएको छ ।
छ जना यात्रु बोकेको उक्त हेलिकप्टरको तेलरोटर (पुच्छरको भाग) गोसाइँकुण्डको हेलिप्याडमा अवतरण गर्ने क्रममा ठोक्किँदा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी फडिन्द्र प्रसाईँले जानकारी दिए । यद्यपी यात्रु भने सकुशल रहेको उनले बताए ।
हेलिकप्टर मर्मत गरी काठमाडौं लान र गएका यात्रु फिर्ता लैजान प्राविधिक टोलीसहित दुई वटा हेलिकप्टर काठमाडौँबाट गोसाइँकुण्ड पठाइसकिएको बताइएको छ । क्षतिको थप विवरण आउन बाँकी छ ।हेलिकप्टरका यात्रु र चालक सबै सकुशल रहेका छन् ।
डिएसपी प्रसाईँका अनुसार दुर्घटनास्थल पुग्न धुन्चेबाट १ दिनको पैदल दूरीमा रहेको छ भने सञ्चार सुविधाको पहुँच समेत राम्रो छैन । उनले घटनाको खबरलगत्तै धुन्चेबाट प्रहरी टोली त्यसतर्फ पठाइएको जानकारी दिए । हेलिकप्टर चालक प्रकाश सेढाईले उँडाएका थिए ।