पोखरा , २१ भदौ २०८३ ।
पोखरा उद्योग वाणिज्य संघ केवल उद्योगी–व्यवसायीको हकहित संरक्षण गर्ने संस्था मात्र होइन, पोखराको सामाजिक, शैक्षिक, औद्योगिक र भौतिक विकाससँग जोडिएको ऐतिहासिक संस्था हो। २०११ साल माघ २५ गते अमृतप्रसाद शेरचनको नेतृत्वमा ‘पोखरा व्यापार संघ’का रूपमा स्थापना भएको यो संस्था अहिले ७२औँ वर्षमा प्रवेश गरिसकेको छ।
पोखरा सहरको स्वरूप विस्तार हुँदै गरेको समयमै स्थापना भएको संघले व्यवसायीका अधिकारको पैरवीसँगै सामाजिक विकासलाई समेत आफ्नो जिम्मेवारीका रूपमा अघि बढाएको इतिहास छ। पोखराको औद्योगिक विकासका लागि निरन्तर पहल गर्दै आएको संघकै अगुवाइमा २०३१ सालमा पोखरा औद्योगिक क्षेत्र स्थापना भएपछि व्यापार संघले आफ्नो स्वरूप परिवर्तन गर्दै पोखरा उद्योग वाणिज्य संघका रूपमा अघि बढेको थियो।
संघको योगदान व्यापारिक क्षेत्रमै सीमित छैन। बालमन्दिर, पृथ्वीनारायण क्याम्पसदेखि पोखरा विश्वविद्यालय स्थापनासम्म संघले महत्वपूर्ण भूमिका निर्वाह गरेको अभिलेख भेटिन्छ। पोखरा विश्वविद्यालय स्थापनाका लागि संघले २०४० को दशकदेखि नै पहल थालेको थियो। त्यस क्रममा व्यवसायी, शिक्षाविद्, बुद्धिजीवी तथा समाजसेवीलाई समेटेर अभियान अघि बढाइएको थियो।
महेन्द्रपुल, पोखरा सभागृह, काहुँको धरहरा तथा सिद्धार्थ राजमार्गलगायतका पूर्वाधार विकासमा समेत संघले आर्थिक तथा संस्थागत सहयोग गरेको उल्लेख छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पनि संघले लामो समयसम्म दबाब र पैरवी गर्दै आएको इतिहास छ।
यही इतिहासका कारण पोखरा उद्योग वाणिज्य संघलाई पोखराको ‘जेठो सामाजिक संस्था’ का रूपमा समेत चिनिन्छ। संघले निजी क्षेत्रका समस्या राज्यसम्म पुर्याउने, व्यवसायीलाई संगठित गर्ने र पोखराको समग्र आर्थिक विकासका मुद्दामा सरकारसँग सहकार्य तथा खबरदारी गर्ने भूमिका निर्वाह गर्दै आएको छ।
त्यसैले संघको नेतृत्व चयनलाई एउटा सामान्य निर्वाचनका रूपमा मात्र हेर्न मिल्दैन। आज चुनिने नेतृत्वले करिब सात दशकभन्दा लामो संस्थागत विरासतलाई कसरी अघि बढाउँछ, निजी क्षेत्रका बदलिँदा समस्या कसरी उठाउँछ र पोखराको आर्थिक भविष्य निर्माणमा संघको भूमिका कति प्रभावकारी बनाउँछ भन्ने प्रश्न पनि यस निर्वाचनसँग जोडिएको छ।
इतिहासले संघलाई पोखराको विकासको साझेदार बनाएको छ भने अबको नेतृत्वका लागि चुनौती भनेको त्यही विरासतलाई वर्तमान आर्थिक आवश्यकता र नयाँ पुस्ताका व्यवसायीका अपेक्षासँग जोड्नु हो।
ऐतिहासिक नेतृत्व
संस्थापक अध्यक्ष अमृतप्रसाद शेरचनदेखि पछिल्ला पुस्ताका नेतृत्वसम्म संघले निजी क्षेत्रको प्रतिनिधित्वसँगै शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन र पूर्वाधार विकासका विषयमा पैरवी गर्दै आएको छ।
विगतका नेतृत्वमा आजाद श्रेष्ठ, आनन्दराज मुल्मी, चण्डीराज ढकाल, दामु अधिकारी, सुरेशकुमार राजभण्डारी, बसन्त उदास, दीपक श्रेष्ठ, राजेन्द्रकुमार लालचन, मानकाजी माकाजु, कृष्णमोहन श्रेष्ठ, विश्वशंकर पालिखे, पवनकुमार प्रजापति र गोकर्ण कार्की लगायतका व्यवसायीले संघको नेतृत्व सम्हालेका छन्। संघकै अभिलेखमा पूर्वअध्यक्षहरूको लामो सूचीले संस्थाको नेतृत्व पुस्तान्तरण र संस्थागत निरन्तरताको इतिहास देखाउँछ।
नेपाल उद्योग वाणिज्य महासंघको इतिहासमा पोखरा उद्योग वाणिज्य संघको नेतृत्व गरेका आजाद श्रेष्ठ, आनन्दराज मुल्मी, चण्डीराज ढकालले महासंघको अध्यक्ष भएर काम गरेका छन्।
विगतका नेतृत्वको एउटा महत्वपूर्ण पक्ष भनेको व्यवसायीको संस्थालाई सामाजिक विकासको साझेदारका रूपमा स्थापित गर्नु हो। पोखरा औद्योगिक क्षेत्र स्थापनाका लागि २०२७ सालदेखि पहल गर्दै २०३१ सालमा औद्योगिक क्षेत्र स्थापना गराउन संघले भूमिका खेलेको थियो। पोखरा विश्वविद्यालय स्थापनाको अभियानमा पनि संघको नेतृत्वले पहल गरेको अभिलेख छ।
पछिल्लो समय संघको नेतृत्व गोकर्ण कार्कीले सम्हाले। २०८१ सालको ३५औँ महाधिवेशनमा कार्कीले अर्जुन पोखरेललाई एकहजार तीन सय ३९ मतका साथ पराजित गर्दै अध्यक्ष निर्वाचित भएका थिए। त्यतिबेला कार्की यसअघिका वरिष्ठ उपाध्यक्ष थिए, जसले संघमा नेतृत्व हस्तान्तरणको परम्परालाई पनि देखाउँछ।
तर संघको नेतृत्वमा लामो समयदेखि देखिँदै आएको अर्को पक्ष पूर्वअध्यक्षहरूको प्रभाव पनि हो। निर्वाचनका बेला पूर्वअध्यक्षहरू विभिन्न उम्मेदवारको पक्षमा उभिने र नेतृत्व निर्माणमा प्रभाव पार्ने अभ्यास यसपटक पनि चर्चामा आएको छ। त्यसैले संघको निर्वाचन केवल उम्मेदवारबीचको प्रतिस्पर्धा नभई विगतको संस्थागत प्रभाव, वर्तमान कार्यसमितिको मूल्याङ्कन र नयाँ नेतृत्वको चाहनाबीचको प्रतिस्पर्धासमेत बनेको देखिन्छ।
यसपटक अध्यक्षका लागि मैदानमा रहेका उत्तममान बुद्धाचार्य, बलराम आचार्य र शोभा गौतम सबै संघको वर्तमान नेतृत्व संरचनाभित्रबाट आएका हुन् भने अर्जुन पोखरेल पूर्वमहासचिव तथा यसअघि दुईपटक अध्यक्ष पदमा प्रतिस्पर्धा गरिसकेका व्यक्ति हुन्। यसले आगामी निर्वाचनलाई नयाँ नेतृत्वको खोजीभन्दा पनि पुरानो संस्थागत अनुभवबाट नयाँ नेतृत्व निर्माण गर्ने कि फरक कार्यशैली रोज्ने भन्ने बहस का रूपमा समेत प्रस्तुत गरेको छ।
अबको मुख्य प्रश्न विगतको नेतृत्वले बनाएको विरासतलाई कसले निरन्तरता दिन्छ भन्ने मात्र होइन। बदलिँदो व्यापारिक वातावरण, डिजिटल अर्थतन्त्र, बैंकिङ तथा करका समस्या, पर्यटन व्यवसायको चुनौती र नयाँ पुस्ताका उद्यमीका अपेक्षालाई संघले कति प्रभावकारी रूपमा सम्बोधन गर्न सक्छ भन्ने हो। त्यसैले यसपटकको चुनावमा मतदाताले विगतको योगदानसँगै भविष्यको नेतृत्व क्षमता र परिणाम दिने कार्ययोजना पनि हेर्ने सम्भावना छ।
पोखरा उद्योग वाणिज्य संघको नेतृत्व केही वर्ष यता केही कमजोर रहेको प्रस्ट देखिएका छन्। कुनै बेला सरकारले ल्याएको आर्थिक नीतिका बारे धारणा बनाउन देशभरका उद्योगी – व्यवसायीहरु पोखराका उद्योगी बयाबसायीहरुका धारणा प्रतिक्षा गरेर बस्ने गरेका देखिन्थ्यो। पोखराका ब्यबसायीहरुले आधिकारिक धारणा सार्वजनिक गरे पछि मात्र सरकारको आर्थिक नीतिको समर्थन गर्ने कि बिरोध गर्ने भनेर देशभरका उद्योगी व्यवसायीहरु अघि सर्थे।
हिजो आज पोखरा उद्योग वाणिज्य संघमा कमजोर नेतृत्व रहेका कारण यसले आयोजना गर्ने पोखरा औद्योगिक ब्यापार मेला निस्प्रभावी जस्तै देखिने गरेको छ। तर त्यस्ती पोखरा महानगर भित्रकै लेखनाथमा आयोजना हुने लेखनाथ महोत्सव भने भब्य र सभ्य रुपमा सम्पन्न हुने गरेको छ। पोखरा औद्योगिक ब्यापार मेला भने औपचारिक रुपमा मात्र सिमित भए जस्तो देखिन्छ।
सरकारले पेलेर आर्थिक नीति ल्यायो भने पोखरा उद्योग वाणिज्य संघको एकमुष्ट आधिकारिक धारणा समयमै आउन समेत सकिरहेको हुँदैन। पोखराका उद्योगी व्यापारीहरुले राम्रो नेतृत्व नपाएको गुनासो गरिरहेका छन्। समयमै आधिकारिक धारणा आउन नसक्नुमा नेतृत्वको कमजोरी हो वा नेतृत्वभित्र रहेको आन्तरिक खोचालो हो ? त्यो पोखराका उद्योगि व्यापारीहरुले बुझ्नु पर्ने देखिएको छ। कति प्या अवस्थामा नेतृत्वमा रहेका व्यक्तिहरु स्पस्ट रुपमा आफ्नो धारणा राख्न समेत नसक्ने अवस्थाका छन्। उनीहरुले नेत्रित्वा पाएमा के पोखरा उद्योग वाणिज्य संघको गरिमा बढ्ला ? के पोखराका उद्योगी-ब्यबसायीहरुको हितमा संघको नेतृत्वले काम गर्न सक्ला ? त्यसैले नेतृत्वको लागि भएको यस चुनाबमा कस्तो नेतृत्व छान्ने भन्ने बारेमा पोखराका उद्योगि – ब्यबसायीहरुले सोचेर सम्झिएर मतदान गर्नु पर्ने देखिन्छ , पोखरा उद्योग वाणिज्य संघको गरिमा र ऐतिहासिकताकै जोगाउने नै हो भने पोखराका उद्योगि – व्यवसायीहरु यस पटक आफ्नो राजनीतिक पार्टी, बिभिन्न पुर्व अध्यक्ष र विभिन्न समुहका दबाबहरूभन्दा माथि उठ्न सक्नु पर्छ र आफ्नो विवेक प्रयोग गरेर उपयुक्त नेतृत्व चयन गरिनु पर्छ।
संघको नयाँ नेतृत्व चयनका लागि आज हुने निर्वाचनले पोखराको निजी क्षेत्रको आगामी दिशा तय गर्ने अपेक्षा गरिएको छ। संघको ३६औँ महाधिवेशनअन्तर्गत अध्यक्ष पदमा चार जना उम्मेदवार चुनावी मैदानमा रहेकाले यसपटकको प्रतिस्पर्धालाई विशेष चासोका साथ हेरिएको छ।
अहिले को को हुन् त नेतृत्वका आकांक्षी ?
अध्यक्ष पदका लागि उत्तममान बुद्धाचार्य, बलराम आचार्य, शोभा गौतम र अर्जुन पोखरेल प्रतिस्पर्धामा छन्। गौतम र आचार्य प्यानलसहित चुनावी मैदानमा छन् भने बुद्धाचार्य र पोखरेल स्वतन्त्र रूपमा प्रतिस्पर्धा गरिरहेका छन्।
यो निर्वाचनलाई केवल व्यक्ति छनोटको प्रतिस्पर्धाका रूपमा मात्र हेर्न मिल्दैन। संघभित्रको संस्थागत अनुभव, व्यवसायीबीचको व्यक्तिगत सम्बन्ध, प्यानलको संगठन र उम्मेदवारका एजेन्डा मत परिणामका महत्वपूर्ण आधार बन्ने देखिन्छ। विशेषगरी दुई प्यानलबीचको प्रतिस्पर्धाले पदाधिकारीतर्फको निर्वाचनलाई थप रोचक बनाएको छ।
शोभा गौतमको उम्मेदवारी यसपटकको चुनावको अर्को महत्वपूर्ण पक्ष हो। वर्तमान महासचिव रहेकी गौतम निर्वाचित भए संघको इतिहासमा पहिलो महिला अध्यक्ष बन्नेछिन्। उनले समावेशी नेतृत्व, संस्थागत क्षमता अभिवृद्धि र व्यवसायीका व्यावहारिक समस्या समाधानलाई आफ्नो प्राथमिकतामा राखेकी छन्।
त्यस्तै, बलराम आचार्यको समूह संस्थागत अनुभव र व्यवसायीको परम्परागत नेटवर्कलाई आफ्नो बलका रूपमा प्रस्तुत गरिरहेको छ। अर्कोतर्फ उत्तममान बुद्धाचार्य प्यानलभन्दा बाहिर रहेर स्वतन्त्र उम्मेदवारीमार्फत आफ्नो व्यक्तिगत प्रभाव र संघमा लामो समयको अनुभवलाई मतमा बदल्ने प्रयासमा छन्। उनले संघलाई विधान र प्रणालीअनुसार सञ्चालन गर्ने प्रतिबद्धता सार्वजनिक गरेका छन्।
अर्जुन पोखरेलका लागि भने यो पुनरागमनको चुनाव हो। उनी यसअघि दुईपटक अध्यक्ष पदमा प्रतिस्पर्धा गरिसकेका छन्। यसपटक निजी क्षेत्रको संस्थागत सुदृढीकरण र व्यवसायीका मुद्दालाई प्राथमिकतामा राख्दै उनले पुनः नेतृत्वका लागि प्रयास गरेका छन्।
निर्णायक को?
संघमा हाल दुईहजार सातसय ३१ सदस्य रहेको विवरण सार्वजनिक भएको छ। त्यसैले अन्तिम परिणाममा कुनै एक समूहको मात्र प्रभावभन्दा पनि व्यक्तिगत सम्बन्ध, व्यवसायीको वर्गगत धारणा र उम्मेदवारप्रतिको विश्वास निर्णायक बन्न सक्ने देखिन्छ।
यसपटकको चुनावमा अध्यक्षसँगै वरिष्ठ उपाध्यक्ष, उद्योग तथा वाणिज्य उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष पदमा मुख्यतः दुई प्यानलबीच प्रतिस्पर्धा छ। खुला सदस्यतर्फ भने १० पदका लागि १३ जना उम्मेदवार चुनावी मैदानमा छन्।
पोखराका व्यवसायीले नयाँ नेतृत्वबाट तत्कालीन व्यापारिक समस्या समाधानसँगै पर्यटन, पूर्वाधार, कर, बैंकिङ, बजार व्यवस्थापन र निजी क्षेत्रमैत्री नीतिका लागि प्रभावकारी पहल अपेक्षा गरेका छन्। त्यसैले चुनाव जित्नु मात्र नभई निर्वाचित नेतृत्वले व्यवसायीका साझा मुद्दालाई कति प्रभावकारी ढंगले उठाउन सक्छ भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ।
अन्ततः आजको निर्वाचनले पोखरा उद्योग वाणिज्य संघमा व्यक्ति मात्र परिवर्तन गर्नेछ कि नेतृत्वको कार्यशैली र प्राथमिकतासमेत बदल्नेछ भन्ने चासो छ। चार अध्यक्षीय उम्मेदवारबीचको प्रतिस्पर्धाले परिणामलाई खुला बनाएको छ। मतदाताको अन्तिम निर्णयले भने प्यानल, व्यक्तिगत लोकप्रियता र एजेन्डामध्ये कुन पक्ष बलियो छ भन्ने स्पष्ट पार्नेछ।