पोखरा, २१ भदौ २०८३ ।
भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नेपाल–चीन सीमा क्षेत्रमा रहेका भौतिक संरचनासँगै केही सीमा स्तम्भसमेत बगाएको थियो।
बाढीपछि क्षतिग्रस्त सीमा क्षेत्रमा नेपालको पहिचान पुनःस्थापित गर्न नेपाली सुरक्षाकर्मीले निरन्तर प्रयास गर्दै आएका थिए। तीन दिनको निरन्तर प्रयासपछि नेपाली सीमा क्षेत्रमा राष्ट्रिय झण्डा पुनःस्थापना गरी फहराइएको छ।
बाढीको प्रभावसँगै नदीको कटान अझै जारी रहेकाले नेपालतर्फबाट सीमा पहिचान गरी झण्डा गाड्ने काम निकै चुनौतीपूर्ण बनेको थियो। जोखिमपूर्ण भूगोल र प्रतिकूल अवस्थाबीच पनि सशस्त्र प्रहरी बल, नेपाल र नेपाली सेनाको समन्वयमा सीमा क्षेत्रमा नेपालको राष्ट्रिय झण्डा पुनःफहराउन सफल भएको हो।
विपद्का कारण सीमा क्षेत्रको भौतिक संरचनामा क्षति पुगे पनि नेपालको सीमा पहिचान र राष्ट्रिय उपस्थिति कायम राख्ने उद्देश्यले गरिएको यो प्रयासलाई महत्वपूर्ण रूपमा हेरिएको छ।