काठमाडौं, २१ भदौ २०८३ ।
छिमेकी देश चीनले नेपाललाई एकसय मिटर लम्बाइका दुई वटा बेलीब्रिज दिएको छ।
बाढी तथा पहिरोबाट क्षतिग्रस्त नेपालका विभिन्न क्षेत्रमा यातायात सञ्चालन सहज बनाउन चीनले दुईवटा १०० मिटर लामो बेलिब्रिज निर्माणका लागि आवश्यक सामग्री उपलब्ध गराएको हो ।
चीनको सिजाङ स्वायत्त क्षेत्रबाट पठाइएको बेलिब्रिज निर्माण सामग्री शुक्रबार सिगात्सेको रिजी नाकामा नेपाललाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। सहयोग सामग्रीमा बेली प्यानल, सस्पेन्सन रड, सपोर्ट फ्रेम, ब्रिज डेकिङ तथा आई–बिमलगायत सामग्री रहेका छन्।
बाढी र पहिरोका कारण सडक तथा पुलमा व्यापक क्षति पुगेपछि नेपालले आपत्कालीन आवतजावतका लागि भारत, चीनलगायत छिमेकी मुलुकसँग बेलिब्रिज सहयोग मागेको थियो। नेपाल सरकारले बाढी प्रभावित क्षेत्रमा तत्काल यातायात सञ्चालन गर्न ४२ वटा बेलिब्रिज आवश्यक रहेको जनाएको थियो।
चीनबाट प्राप्त दुई बेलिब्रिजका सामग्री विपद्बाट प्रभावित क्षेत्रमा आवश्यकताअनुसार प्रयोग गरिनेछ। अस्थायी प्रकृतिका यस्ता पुलले क्षतिग्रस्त सडक तथा पुलका कारण अवरुद्ध यातायात पुनः सञ्चालन गर्न तथा राहत, उद्धार र पुनर्निर्माणका कामलाई गति दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यससँगै चीनले बेलिब्रिज निर्माणमा प्राविधिक सहयोगका लागि प्राविधिक टोलीसमेत पठाउने तयारी गरेको जनाइएको छ।
