म्याग्दी, २१ भदौ २०८३ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नामका ८१ वर्षीय यामबहादुर तिलिजाको ५८ वर्षपछि परिवारसँग पुनर्मिलन भएको छ।
२० वर्षको उमेरमा रोजगारीका लागि भारतको मणिपुर पुगेका तिलिजा परिवारसंग लामो समयदेखि सम्पर्कविहीन थिए । परिवारले उनी जिवित रहेको कुरामा समेत आशंका गर्दै आशासमेत मारिसकेका थिए । यसैबीच मणिपुरमा नेपालीभाषी सञ्चारकर्मी खेम देवानले उनलाई जङ्गलमा दयनीय अवस्थामा भेटेर श्रव्यदृश्य सामग्री सार्वजनिक गरेका थिए।
उक्त श्रव्यदृश्य सामग्री सार्वजनिक भएपछि उनका परिवारले तिलिजाको पहिचान गरी सम्पर्क गरेको हो। निमोनियाबाट बिरामी तिलिजाको धरानस्थित विजयपुर अस्पतालमा उपचारपछि उनलाई जन्मथलो म्याग्दीको दग्नाम ल्याइएको छ ।
घर फर्किएपछि तीन भाइ, बुहारी तथा आफन्तले फूलमाला लगाएर स्वागत गरेका थिए। लामो समय मणिपुरमा बस्दा तिलिजाले काठ काट्ने तथा बाख्रा चराउने काम गरेर जीवन बिताएका थिए । उनको श्रीमती र छोरीको समेत निधन भइसकेको छ।
घर फर्किएपछि तिलिजाले बाँकी जीवन भाइ, परिवार र आफन्तसँग बिताउने इच्छा व्यक्त गरेका छन् ।