युक्रेनमा तीन दिन आक्रमण रोक्न रुसी राष्ट्रपति पुटिनको आदेश

युक्रेनमा तीन दिन आक्रमण रोक्न रुसी राष्ट्रपति पुटिनको आदेश


  • एजेन्सीहरु
  • आइतबार, २१ भाद्र २०८३
  • 627
    Shares

काठमाडौं, २१ भदौ २०८३ ।

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आगामी तीन दिनसम्म आक्रमण नगर्न आदेश दिएका छन्। क्रेमलिनका प्रवक्ता दिमित्रि पेस्कोभका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विट्कफ र जारेड कुश्नरसँग पुटिनको भेटवार्ताको तयारी भइरहेका बेला यस्तो आदेश दिइएको हो।

विट्कफ र कुश्नर शनिबार स्थानीय समयअनुसार दिउँसो १२ः५२ बजे मस्कोस्थित भ्नुकोभो विमानस्थल पुगेका थिए। उनीहरूलाई रुसी राष्ट्रपतीय विशेष दूत किरिल दिमित्रिएभले स्वागत गरेका थिए।

पेस्कोभले पुटिन र अमेरिकी वार्ताकारबीच हुने भेटवार्ताको परिणाम नआएसम्म कुनै पनि समाधान प्रस्तावबारे अनुमान नगर्न आग्रह गरेका छन्। उनका अनुसार विगतमा पुटिनसँग हुने यस्ता भेटवार्ता लामो समयसम्म चल्ने गरेका छन्।

पुटिनको तीनदिने आक्रमण रोक्ने आदेशबारे जानकारी सार्वजनिक भइरहेका बेला युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले किएभ र दक्षिण–पूर्वी क्षेत्रमा रहेको बोरिस्पिलका विमानस्थललाई लक्षित गरी आक्रमण गरेको बताएका छन्।

जेलेन्स्कीले युक्रेनले रुसी कदमलाई ध्यानमा राख्दै आगामी साता रुसी हवाई क्षेत्रसँग सम्बन्धित आफ्ना कारबाहीको पुनरवलोकन गर्ने बताएका छन्। यसअघि उनले अमेरिकी दूतहरूसँग आगामी दिनमा किएभमा भेटवार्ता हुने अपेक्षा व्यक्त गरेका थिए।

प्रतिक्रिया