काठमाडौं, २१ भदौ २०८३ ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई आगामी असोज ८ गते (२४ सेप्टेम्बर) सम्बोधन गर्ने भएका छन्।
नेपालको प्रस्तावपछि राष्ट्रसंघले वक्ताहरूको संशोधित सूची सार्वजनिक गर्दै प्रधानमन्त्री शाहका लागि २४ सेप्टेम्बर दिउँसोको समय तय गरेको हो। सोहीअनुसार प्रधानमन्त्रीको अमेरिका भ्रमणको तयारी अघि बढाइएको छ।
भोटेकोसीमा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री स्वयं महासभामा सहभागी भएर जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका विपद्, क्षति र जलवायु न्यायको विषय उठाउने तयारी गरिएको छ।
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण छोटो हुने र महासभामा सम्बोधनपछि स्वदेश फर्किने तयारी रहेको बताइएको छ। यसअघि महासभामा नेपालको प्रतिनिधित्व परराष्ट्रमन्त्री शिशिर खनालले गर्ने निर्णय भएको थियो।
प्रधानमन्त्री बनेको पाँच महिनापछि शाहको यो पहिलो विदेश भ्रमण हुनेछ। भ्रमणका क्रममा सम्भावित द्विपक्षीय भेटवार्ताबारे भने अझै टुंगो लागेको छैन। परराष्ट्रमन्त्री खनाल पनि प्रतिनिधिमण्डलमा सहभागी हुनेछन्।