पोखरा, ५ असार २०८३।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नबिन कार्कीले पछिल्लो समय पोखरामा भएका ठूला चोरीका घटनामा काठमाडौंबाट आएका गिरोह संलग्न रहेको खुलासा गरेका छन्।
पोखरा–७ मा आयोजित शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया तथा नागरिक सुनुवाइ कार्यक्रममा बोल्दै एसपी कार्कीले त्यस्तो खुलासा गरेका हुन्।
पोखरामा काठमाडौंबाट पोखरा आएर अपराध गर्ने र पुनः फर्किने गिरोह सक्रिय रहेको जानकारी दिंदै उनले चोरीको नयाँ प्रवृत्तिका कारण अनुसन्धान चुनौतीपूर्ण बन्दै गएको बताए।
एसपी कार्कीले नागरिकलाई स्वयं सचेत रहन आग्रह गर्दै टोल–टोलमा सीसीटीभी जडान, सडक बत्तीको व्यवस्था तथा सुरक्षा सतर्कता बढाउन सुझाव दिए।
हालै पोखराको एक घरबाट ५० तोला सुन चोरी भएको उदाहरण दिँदै उनले धेरै सुन घरमा नराख्न र सुरक्षित लकरमा राख्न आग्रह गरे। विशेषगरी महिलालाई अत्यधिक सुनका गहना लगाएर हिँडडुल नगर्न पनि उनले सुझाव दिए।
कार्यक्रममा स्थानीयवासीले चोरी नियन्त्रण, लागुऔषध दुर्व्यसन रोकथाम, सीसीटीभी तथा सडक बत्ती विस्तारलगायत विषयमा प्रहरीको ध्यानाकर्षण गराएका थिए। प्रहरी र समुदायबीचको सहकार्यबाट मात्रै शान्ति सुरक्षा मजबुत बनाउन सकिनेमा सहभागीहरूले जोड दिएका थिए।