पोखरा, ३ असार २०८३।
पोखरामा लेनदेन विवादमा एक व्यक्तिले आफ्नै सासुमाथि चक्कुले हानेर आक्रमण गरेका छन्ज्वा।
पोखरा महानगरपालिका वडा नम्बर २८ माझठाना घर भई हाल पोखरा–१७ बिरौटामा बस्दै आएकी ४७ वर्षीया मुना तिवारीमाथि उनका ज्वाइँ ४३ वर्षीय ध्रुवराज अधिकारीले बुधबार अपराह्न करिब ४:११ बजे पोखरा १७ राममन्दिर नजिक चक्कु प्रहार गरेर आक्रमण गरेका हुन्।
प्रहरीका अनुसार लेनदेन सम्बन्धी विवाद चर्किएपछि लमजुङको मध्यनेपाल नगरपालिका–२ घर भएका अधिकारीले तिवारीमाथि चक्कु प्रहार गरेका थिए।
घटनामा तिवारीको पेट, ढाड र छातीमा चोट लागेको छ। घाइते तिवारीलाई तत्काल उपचारका लागि पोखरा–१७ बिरौटास्थित नोबेल अस्पताल पठाइएको छ। उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ।
घटनामा चक्कु प्रहार गर्ने ध्रुवराज अधिकारीकी श्रीमती तथा घाइतेकी छोरी २८ वर्षीया संगीता तिवारी पनि संलग्न रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
घटनालगत्तै सीआरभी बिरौटाबाट प्रहरी सहायक निरीक्षक विकास गौतमको कमाण्डमा खटिएको टोलीले ध्रुवराज अधिकारीलाई प्रयोग गरिएको चक्कुसहित नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।