पोखरा, १ असार २०८३।
पोखरामा भएको सवारी दुर्घटनामा परेर नेपाली कांग्रेसका युवा नेता राजीव बास्तोलाको निधन भएको छ।
पोखराको सभागृहचोक र सिर्जनाचोकको बीचमा आइतबार साँझ करिब ६ः१५ बजे बास्तोला सवार मोटरसाइकललाई रेडी मिक्सचरले ठक्कर दिँदा दुर्घटना भएकोवडा प्रहरी कार्यालय बैदाम पोखराले जानकारी दिएको छ।
दुर्घटनापछि गम्भीर घाइते भएका पोखरा १९,काउरे निवासी बास्तोलालाई उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनामा संलग्न रेडी मिक्सचर र त्यसका चालक हेटौँडाका ४० वर्षीय राजन अधिकारीलाई बैदाम प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको बैदाम प्रहरी इन्चार्ज प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले जानकारी दिए।
बास्तोला नेपाली कांग्रेसका सक्रिय युवा नेता थिए। ३२ बर्षीय बास्तोला नेपाली काँग्रेस गण्डकी प्रदेशका आमन्त्रित सदस्य एबम कास्की क्षेत्र न. ३ का नेता खिमलाल बाँस्तोलाका छोरा हुन । उनको असामयिक निधनले राजनीतिक तथा सामाजिक क्षेत्रलाई स्तब्ध बनाएको छ।