काठमाडौं ४ असार २०८३।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब २९ लाख रुपैयाँ बराबरको विदेशी मुद्रासहित एक चिनियाँ र एक नेपाली नागरिक पक्राउ परेका छन्।
विमानस्थल सुरक्षा कार्यालयका अनुसार बुधबार दुई फरक अन्तर्राष्ट्रिय उडानमार्फत विदेश जान लागेका उनीहरूलाई प्रस्थान कक्षमा गरिएको सुरक्षा जाँचका क्रममा नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा चीनको कुनमिङ जान लागेका ५१ वर्षीय चिनियाँ नागरिक मो युलोङ रहेका छन्। उनको साथबाट ७ हजार ५ सय अमेरिकी डलर बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त रकम नेपाली रुपैयाँमा करिब ११ लाख ३४ हजार ३ सय बराबर हुन्छ।
यस्तै, कतारको दोहा जान लागेका सुनसरीको इटहरी उपमहानगरपालिका–५ निवासी ४० वर्षीय बेचन मियाको साथबाट ४२ हजार ४ सय कतारी रियाल फेला परेको छ। बरामद रकमको नेपाली मूल्य करिब १७ लाख ५८ हजार ७ सय ५२ रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुवै जनाले विदेशी मुद्रा शरीरमा लुकाएर बाहिर लैजान खोजेको आशंकामा खानतलासी गर्दा रकम फेला परेको हो।
बरामद गरिएको विदेशी मुद्राको कुल नेपाली मूल्य २८ लाख ९३ हजार ५२ रुपैयाँ रहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन, ललितपुर पठाइएको प्रहरीले जानकारी दिएको छ।