कतारी मध्यस्थतामा अमेरिका–इरान वार्ता अघि बढ्यो, समझदारीको मस्यौदा तयार भएको इरानको दाबी

कतारी मध्यस्थतामा अमेरिका–इरान वार्ता अघि बढ्यो, समझदारीको मस्यौदा तयार भएको इरानको दाबी


  • एजेन्सीहरु
  • सोमबार, १ असार २०८३
  • 1.2K
    Shares

इरानका सुरक्षा प्रमुख (Secretary of the Supreme National Security Council) अली लारिजानी (Ali Larijani) र कतारका अमिर शेख तमिम बिन हमाद अल थानी (Sheikh Tamim bin Hamad Al Thani) बीचको कूटनीतिक भेटघाट

तेहरान १ असार २०८३ । अमेरिका र इरानबीच जारी तनाव समाधानका लागि कतारको मध्यस्थतामा भएको वार्तापछि सम्भावित समझदारी पत्रको मस्यौदा तयार भएको इरानले जनाएको छ।

इरानका उपपरराष्ट्र मन्त्री काजेम गरबाबादीले सोमबार इरानी सरकारी सञ्चार माध्यमसँग कुरा गर्दै तेहरानमा करिब १४ देखि १५ घण्टासम्म चलेको वार्तापछि मस्यौदालाई अन्तिम रूप दिइएको बताएका हुन्।

उनका अनुसार कतारी प्रतिनिधिमण्डल आइतबार तेहरान पुगेको थियो। वार्ताका क्रममा इरानले मस्यौदामा केही संशोधन प्रस्ताव गरेको र ती संशोधन समेटेर दस्तावेजलाई अन्तिम रूप दिइएको उनले बताए।

गरबाबादीले अन्तिम सम्झौताका लागि ६० दिनको समयसीमा तय गरिएको जानकारी दिँदै यस अवधिमा थप प्राविधिक तथा राजनीतिक छलफल हुने बताए। उनले इरानको मुख्य प्राथमिकता आफूविरुद्ध लगाइएका आर्थिक तथा राजनीतिक प्रतिबन्ध हटाउनु रहेको स्पष्ट पारे।

यसैबीच, इरानको अर्ध–सरकारी सञ्चार माध्यम मेहर न्युज एजेन्सी ले अमेरिका र इरानबीच प्रस्तावित १४ बुँदे समझदारी पत्रको मस्यौदासम्बन्धी विवरण सार्वजनिक गरेको छ। उक्त रिपोर्टमा युद्धविराम, अमेरिकी सैन्य गतिविधिमा कटौती, नौसैनिक नाकाबन्दी हटाउने व्यवस्था, हर्मुज जलडमरूमध्य पुनः सञ्चालन तथा इरानमाथिका प्रतिबन्ध हटाउने विषय समेटिएको दाबी गरिएको छ।

तर, सार्वजनिक गरिएका ती बुँदाबारे अमेरिका वा इरान सरकारले हालसम्म औपचारिक पुष्टि गरेका छैनन्। प्रस्तावित समझदारी पत्रमा समेत कुनै आधिकारिक हस्ताक्षर भएको जानकारी सार्वजनिक भएको छैन।

कूटनीतिक स्रोतहरूका अनुसार अमेरिका, इरान र मध्यस्थकर्ताबीच थप छलफल जारी रहने सम्भावना छ। सम्भावित सम्झौताले मध्यपूर्वमा बढ्दो तनाव कम गर्न र क्षेत्रीय स्थायित्वमा योगदान पुर्‍याउन सक्ने अपेक्षा गरिएको छ।

अमेरिका–इरान १४ बुँदे समझदारीको मस्यौदामा के छ ?
इरानको अर्ध-सरकारी सञ्चार माध्यम ‘मेहर न्युज एजेन्सी’ले अमेरिका र इरानबिच तयार भएको भनिएको १४ बुँदे समझदारी पत्रको मस्यौदा विवरण सार्वजनिक गरेको छ। यद्यपि, यी बुँदाहरूबारे दुवै देशका सरकारले हालसम्म कुनै आधिकारिक पुष्टि वा हस्ताक्षर भने गरिसकेका छैनन्।

मेहर न्युजका अनुसार मस्यौदामा समेटिएका मुख्य बुँदाहरू यस प्रकार छन्:

– लेबनानसहित सबै मोर्चाहरूमा तत्काल र स्थायी रूपमा युद्धविराम लागू गरिने।
– इरानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने अमेरिकी प्रतिबद्धता।
– सम्झौता भएको ३० दिनभित्र अमेरिकाले आफ्नो नौसैनिक नाकाबन्दी पूर्ण रूपमा हटाउनुपर्ने।
– अमेरिकी सेना इरानको सीमा वा क्षेत्रबाट पछि हट्नुपर्ने।
– आगामी ३० दिनभित्र हर्मोज जलडमरू मध्य इरानी व्यवस्थापन र संयन्त्र अन्तर्गत पुनः सञ्चालनमा ल्याइने।
– अमेरिका र उसका सहयोगी राष्ट्रहरूले इरानको पुनर्निर्माणका लागि कम्तीमा ३०० अर्ब डलर (३०० बिलियन डलर) बराबरको पुनर्निर्माण योजना उपलब्ध गराउनुपर्ने।
– इरानी तेल र ऊर्जा उत्पादनहरूमाथि लगाइएका सबै प्रतिबन्धहरू अन्त्य गरिने।
– आणविक हतियार उत्पादन नगर्ने इरानको पुरानो प्रतिबद्धताको पुनः नवीकरण।
– यस क्षेत्रमा अमेरिकाले आफ्नो सैन्य शक्ति थप नगर्ने र इरानविरुद्ध नयाँ प्रतिबन्धहरू नलगाउने अमेरिकी प्रतिबद्धता।

मेहर न्युजले आफ्नो रिपोर्टमा अगाडि लेखेको छ, ‘इरानको रोक्का गरिएको कुल रकमको आधा हिस्सा (५० प्रतिशत फ्रोजन फन्ड) फुकुवा नभएसम्म, तेल प्रतिबन्धहरू निलम्बन नगरिएसम्म र नौसैनिक नाकाबन्दी पूर्ण रूपमा नहटेसम्म अन्तिम चरणको प्राविधिक वार्ता शुरू हुने छैन।’ ऐतिहासिक सम्झौताको अन्तिम रूपलाई संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को प्रस्तावमार्फत् अनुमोदन गरिने समेत दाबी गरिएको छ।

प्रतिक्रिया