रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा ६ चिनियाँ नागरिक पक्राउ

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा ६ चिनियाँ नागरिक पक्राउ


  • जनसञ्चार डट कम संवाददाता
  • बिहिबार, ४ असार २०८३
  • 1K
    Shares

पाेखरा, ४ असार २०८३ ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट नेपालमा कानुनी रूपमा प्रतिबन्धित अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को अवैध कारोबारमा संलग्न रहेको आरोपमा ६ जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले बिहीबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले जनाएको अनुसार केही दिनयता चिनियाँ नागरिकहरूको एक समूहले विभिन्न मोबाइल एप्स तथा वेबसाइटमार्फत नेपालमा निषेधित क्रिप्टोकरेन्सी कारोबार गरिरहेको गोप्य सूचना प्राप्त भएको थियो। सोही सूचनाको आधारमा प्रहरीले बुटवल–१२ स्थित एक स्थानमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका व्यक्तिहरूले बिनान्स, ओकेएक्स (OKX), इन्टोकन लगायतका क्रिप्टो प्लेटफर्म तथा पेटीएम, भीम, मोबिक्विक र फोनपे जस्ता डिजिटल भुक्तानी एप्स प्रयोग गरी कारोबार गर्दै आएको खुलेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा ४३ वर्षीय हु गाङ, ४५ वर्षीय ली सुआनहे, ३६ वर्षीय सुन हुइ, ३५ वर्षीय चाओ छिउछन, ३१ वर्षीय सियाङ जियाशुन र ४५ वर्षीय ली बिन रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट कारोबारमा प्रयोग गरिएका ११ थान मोबाइल फोन र २ थान ल्यापटप बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार पक्राउ परेका सबैलाई अभौतिक मुद्रा सम्बन्धी कसूरमा अनुसन्धानका लागि हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया