ट्याक्सी चढ्ने बहानामा बन्दकर्ताले पेट्रोल छर्केर तीनकुनेको मुनिभैरव नजिकै सुवास परियारको ट्याक्सी जलाइदिए । बन्दकर्ताले बालाजु मनमैजुमा यात्रु सवार माइक्रो बस र त्रिपुरेश्वरमा साझा यातायातको बसमाथि ढुंगा प्रहार गरे । यी तीन घटनामा चालक दोषी छैनन् । सर्वसाधरणलाई सुविधा दिन खोज्दा उनीहरुका सवारी साधन तोडफोड मात्र भएनन् जलाइए । बन्दकर्ताले सवारी तोडफोड र आगजनी गर्नसक्छन् भन्ने पूर्वजानकारी रहेको प्रहरीले केही गर्न सकेन् ।
कमाईको भाँंडो जलाइदिएपछि परियार प्रहरीकोमा बिन्ती चढाइरहँंदा सरकारका विभिन्न मन्त्रालयका सचिवले भने शक्तिको दुरुपयोग गरेर प्रहरीलाई बन्दको बहानामा घरका गेटमा गाडी मागएर कार्यालय पुगेको खुलेको छ । बिहीबारको बन्दमा शक्तिको दुरुपयोग गर्दै प्रहरीलाई घरको दैलोसम्मै गाडी मगाएर कोहि याक एण्ड यति होटल त कोही सिंहदरबार पुगे ।
सरकारले सचिवलाई गाडी सुविधा दिएपनि उनीहरुले घरमै थन्काएर प्रहरीकै गाडीमा चढेर मुख्य सचिवको सार्कस्तरीय भेलामा सहभागी हुन दरबारमार्ग स्थित याक एण्ड यती होटलमा पुगेका हुन् । अख्तियारका आयुक्तदेखि संसद सचिवालयका महासचिवसम्म प्रहरीकै स्कटिङमा कार्यालय पुगेका थिए ।
स्रोतका अनुसार शिक्षा सचिव विश्व प्रकाश पण्डित, संघीय मामिला तथा स्थानीय मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ, जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओली र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव टेक प्रसाद ढुंगाना घरमै प्रहरीको गाडी बोलाएर होटलमा पुगे । त्यसैगरी, परराष्ट्र सचिव शंकरदास वैरागी बिहान साढे सात बजे वनस्थलीदेखि प्रहरीकै गाडीमा सिंहदरबार पुगेका थिए । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव यादव कोइराला समेत कपनबाट प्रहरीकै गाडीमा बिहान पौने नौ बजे सिंहदरबार पुगेका थिए ।
संसद सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराई चुनदेवीदेखि सिंहदरबार, सम्पत्ति सुद्धिकरणका महानिर्देशक किशोरजंग कार्की धुम्बाराहीदेखि पुल्चोकसम्म प्रहरीकै स्कर्टमा कार्यालय पुगेका थिए ।
अख्तियार आयुक्त नविन घिमिरे, सचिव शान्तराज सुवेदी लगायत उच्चपदस्थ कर्मचारी प्रहरीकै स्कटिङमा कार्यालय पुगेका थिए । महानगरीय ट्राफिक प्रहरी महाशाखाका एक अधिकृत भन्छन्,‘सडकमा खटिनुपर्ने ट्राफिक प्रहरीलाई एकाबिहानै सचिवको फोन आउँंछ । गाडी चलेको छ कि छैन, हाम्रो गाडी फोडिदेलान् जस्तो छ, गाडी पठाइदिनोस् तपाइँहरुकैमा चढेर जाँंदा सुरक्षित होला जस्तो छ ।’ अधिकृतले प्रश्न गरे, ‘सडकमा हेर्नुकी सचिवहरुलाई पिकअप गर्नु ?’ महाशाखाले बिहीबार मात्रै बिहान साढे सातदेखि अपरान्हसम्म ४० जना उच्च पदस्थलाई स्कटिङ गर्नुपरेको थियो । जसमध्ये अधिकांशलाई प्रहरीकै गाडीमा हालेर घरदेखि कार्यालयसम्म पुर्याइएको छ