आफ्नै गाउँलाई केन्द्र बनाएर गतबर्ष वैशाख १२ गतेको भूकम्पले हानेपछि बारपाक ४ सोर्तका गोपाल विश्वकर्माको घर भुइँमा मिल्यो । विश्वकर्माको घरसँगै बारपाकका १४ सय ७० घर भत्किए माटोमा मिले । विश्वकर्मा अरु भूकम्प पीडित जस्तै चोया, चित्राले बारेर र त्रिपाल ओढाएर सानोतिनो टहरो ठड्याए । यही टहरोभित्र उनको तीन जनाको परिवारले वर्षदिन बिताए ।
एक बर्षपछि त्यही दिन पारेर राष्ट्रपति विद्यादेवी भण्डारी सेनाको हेलिकोप्टर चढेर बारपाक पुगिन् । भुकम्प गएको ११ बजेर ५६ मिनेटकै घडीपला मिलाएर पण्डित ईश्वरीप्रसाद रेग्मीले वेदका ऋचा पढे । राष्ट्रपतिले गोपालको घरको जग पूजा गरिन्, जगमा ढुङ्गा राखिन् र साबेलले सिमेण्ट राखेर सिलान्यास गरिन् ।
केहीबेरपछि राष्ट्रपतिकै रोहोबरमा सार्वजानिक समारोहका बीच दुईलाख रुपैयाँ अनुदान पाउने सम्झौता पनि भयो । गाविस सचिव चेतनाथ अम्गाईले उनलाई सम्झौता पुस्तिका हस्तान्तरण गरे । यो घटनाले गोपालको मात्रै होइन, सारा गाउँलेले अब छिट्टै आफूहरुको घर बन्ने सपना देखे ।
४५ दिनपछि बारपाकको उनको टहरामा पुग्दा राष्ट्रपतिले सिलान्यास गरेको जगको खाल्डो रित्तै थियो । राष्ट्रपतिले पूजा गरेर राखेका ढुङ्गाहरु पनि त्यहाँ थिएनन् । पानी पर्दा भल पसेर आधाआधी जग माटाले पुरिएको थियो । घर बन्नु त परको कुरा आजसम्म भग्नाबशेषको सतह सम्याइएको पनि थिएन । पूजा गरेका अरु ढुङ्गाहरु कता पुगे, एउटा चाहिँ जोगाएर घरभित्रै छोपेर राखेको गोपालले बताए । जगभन्दा १५ मिटर पर उनको त्रिपालले बनाएको छाप्रो छ । छाप्रोभित्र श्रीमती कुमारी र छोरा सुजन बस्छन् ।
‘राष्ट्रपति आयो, घर सिलान्यास गर्यो । क्यास पैसा पनि दिएको होला । अब गोपाल बिकको घर त बन्ने भो भनेर गाउँभरि बयान भयो’ गोपाल भन्छन् ‘तर केही भएन । तपाईं हेर्न चाहनुहुन्छ भने मसँग त्यो सम्झौतापत्र मात्र छ । त्यही एउटा कागजको खोस्टो हो मैले पाएको अरु केही छैन । हल्लाचाहिँ राष्ट्रपतिले घर बनाइदिने हो अरे भनेर गाउँ फिँजाए । सबैले पाउने दुई लाख नि दिएन । घर बनाउने खर्च पनि छैन, कसरी बनाउने घर ?’
पछि शंकर ढकाल भन्ने इञ्जिनियरले ब्लक बनाउने मेसिन ल्याएर त्यहीं प्रदर्शन गरेका थिए । ‘त्यो मेसिन पनि यहाँ आइदिएपछि त झन राष्ट्रपतिले इञ्जिनियर पठायो । तिमीहरुको घर बनाउन मेसिन पनि पठायो भनेर कत्रो हल्ला गरे’ उनले भने ‘यत्रो, यत्रो क्यामराले खिँचे, । यस्तो बनाउने रे, उस्तो बनाउने रे भनेर हल्ला मात्रै भयो । तर हेर्नुस्, सुख लुक्छ, दुख लुक्दैन ।’
गोपालकी पत्नी कुमारी बिकलाई पनि घर नबनेको भन्दा गाउँलेले पहिले चलाएको हल्लाले लाजमर्दो बनाएको छ । ‘रेडियो, टिभीले पनि फुकेको फुक्यै गर्यो । कति मान्छे हेर्न आए, हुने नहुने सोधँे, फोटो खिचेर लगे’ नमिठो लागेको घटना सुनाउँदै उनी भन्छिन् ‘यहाँ आफूले पाउनु, खानु नाम केही छैन । हात्ती आयो हात्ती आयो फुस्सा भयो । जे होस्, एउटा राष्ट्रपतिले हाम्रो जग्गामा पाइला टेक्यो, खुट्टा टेक्यो भन्ने चाहिँ भयो।’
राष्ट्रपतिले जग हालेको घरमा राष्ट्रिय झण्डा गाडेर बस्ने रहर त्यतिकै हराउँदै गएको उनको दुखेसो छ । ‘राष्ट्रपतिले धुपबत्ति बालेर जग हालेको घर हो भनेर पछिसम्म सम्झना राख्न राष्ट्रिय झण्डा गाडेर बस्ने भन्ने हामी बुढाबुढीले सल्लाह पनि गरेका थियौं’, उनले भनिन् ‘राष्ट्रपतिले टेकेको गरीबको घरलाई पछिसम्म सम्झना राख्न केही सोचाइ त गरेका होलान् जस्तो लागिरहेको छ अझै पनि ।’