योग्य व्यक्तिलाई उम्मेदवार बनाउने कास्कीका दलहरुको प्रतिबद्धता

योग्य व्यक्तिलाई उम्मेदवार बनाउने कास्कीका दलहरुको प्रतिबद्धता


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ६ बैशाख २०७४
  • 11K
    Shares

कास्कीका प्रमुख दलहरुले स्थानीय तहको निर्वाचनमा उम्मेद्वार छान्दा दल भन्दा माथी उठेर योग्य र सक्षम नेतृत्व चयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

 

नागरिक समाज पोखरा र पत्रकार महासंघ कास्की शाखाले बुधबार आयोजना गरेको ‘आसन्न स्थानीय तहको निर्वाचनमा कस्ता उम्मेदवार ?’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै दलका नेताहरुले पार्टीमा स्वच्छ छवि भएका व्यक्तिहरुलाई उम्मेदवार बनाउने प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता रामजी कुँवरले पार्टीमा सकृय तर भिजन भएको र मिसनमा काम गर्नसक्ने लोकप्रीय व्यक्तिलाई कांग्रेसले उम्मेद्वार बनाउने बताए ।

नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले पार्टीमा कृयाशील, ईमान्दार, जनतामा स्थापित व्यक्तिलाई एमालेले उम्मेदवार बनाउने बताए ।

नेकपा माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य बालकृष्ण काउछाले योग्य, क्षमतावान, भुगोल बुझेको ईमान्दार र स्वच्छ छवि भएको व्यक्तिलाई माओवादी केन्द्रले उम्मेदवार बनाउने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीका अध्यक्ष जयलाल पुनले देशमुखी, जनमुखी, आत्मनिर्भरता उन्मुख, स्वच्छ छवि भएको तथा अनुभव र योग्य व्यक्तिलाई पार्टीले उम्मेदवार बनाउने बताए ।

राष्ट्रिय जनमोर्चा कास्कीका अध्यक्ष शंकर बरालले पार्टीलाई नै सर्वोपरी ठानेर उम्मेदवार बनाउने चलन अहिलेपनि जारी रहेको बताए पनि आफ्नो पार्टीबाट कस्ता उम्मेदवार बनाउनेबारे भने प्रष्ट राख्न सकेनन् ।

नयाँ शक्ती पार्टी कास्कीका संयोजक हेमबहादुर थापाले आफ्नो पार्टीलाई दलीय चुनाव चिन्ह दिएको खण्डमा मात्र चुनाव लड्ने बताउँदै त्यस्तो अवस्थामा ८० प्रतिशत युवालाई उम्मेदवार बनाउने बताए ।

यसअघी कार्यक्रमको शुरुमा बोल्दै राजनीतिक विश्लेषक विश्व सिग्देलले उम्मेदवारले आफ्नो क्षेत्रमा के के सामथ्र्य छ चिनेर त्यसको सदुपयोग गर्नसक्ने सक्षम व्यक्तिलाई उम्मेदवार बनाउन सुझाव दिए ।

कार्यक्रमको समापन गर्दै पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले भुगोल बुझेको, निकास र विकास बुझेको व्यक्तिलाई उम्मेदवार बनाउन आग्रह गरे ।

प्रतिक्रिया