म्याग्दी, १४ भदौ २०८३।
म्याग्दीको मालिका गाउँपालिका–५ फेदीमा बस्तीमाथिबाट ढुंगा खस्दा एक बालक घाइते भएका छन् भने दुई घरमा क्षति पुगेको छ।
शनिबार साँझ पाखोबाट खसेको ढुंगाले लागेर १० वर्षीय बालक घाइते भएका छन् भने स्थानीय रामबहादुर घर्ती र चनमाया श्रेष्ठको घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए ।
घटनापछि स्थानीयवासीको सहयोगमा उद्धार तथा आवश्यक व्यवस्थापनको काम भइरहेको छ। ढुंगा खस्ने जोखिम कायमै रहेकाले बस्ती नै खाली गराइएको प्रहरीले जनाएको छ।
स्थानीयलाई सुरक्षित स्थानमा सारेर थप जोखिमबाट जोगाउने प्रयास भइरहेको छ। घटनास्थलमा प्रहरी तथा स्थानीयवासीको समन्वयमा आवश्यक व्यवस्थापनको काम भइरहेको जनाइएको छ।