नेपालमा गणतन्त्र घोषणा भएको पनि आज ८ वर्ष पुरा गरेर ९ वर्षमा प्रवेश गरेछ । तर, नेपाली जनताले गणतन्त्रको अनुभूति भने गर्न सकेका छैनन् । जुन त्यही गणतन्त्र प्राप्तिका लागि तत्कालिन नेकपा (माओवादी) ले १० वर्षे सशस्त्र जनयुद्ध संचालन गरेको थियो ।
जहाँ त्यही १० वर्षे जनयुद्धमा १० औं हजार नेपाली आमाका होनाहार छोराछोरीले बलिदान गरेका थिए । त्यही बलिदानको जगबाट नेपालमा गणतन्त्र आयो । तर, आज त्यो गणतन्त्रलाई जनताको गणतन्त्र बनाउनतिर होइन विहारी गणतन्त्रमा परिणत गर्ने खेल भइरहेको छ ।
विडम्बना, हिजो तत्कालिन विद्रोही पार्टीका मुख्य नेता भनिएका प्रचण्ड–बाबुराम र तत्कालिन संसदवादी पार्टीहरु यो गणतन्त्रलाई विहारी गणतन्त्रमा सीमित गर्ने खेलमा छन् । वास्तवमा हिजो माओवादीले मुलुकलाई गणतान्त्रिक व्यवस्थामा लानुपर्छ भनेर युद्धमा जाँदा माओवादीलाई सिध्याउन लागिपरेका तत्कालिन संसदवादी दल नेपाली कांग्रेस र एमालेहरु गणतन्त्रको वास्तविक हकदार बन्न खोजिरहेका छन् । यथार्थमा भन्ने हो भने उनीहरुले आज गणतन्त्र दिवस मनाउनुको कुनै अर्थ छैन ।
नेपाली सेना, सर्वोच्च अदालत र मानवअधिकारवादी भन्नेहरुले समेत माओवादी आतङ्ककारी हो, यसलाई सिध्याउनु पर्छ भन्दै आफ्ना सम्पूर्ण शक्ति प्रयोग गरेका थिए । आज उनीहरु जै खाँटी गणतन्त्रवादी बन्न खोजिरहेका छन् । जहाँ कि तत्कालिन सत्ताधारीहरुले गणतन्त्रको बिउ रोप्नेहरुलाई आतङ्ककारीको बिल्ला भिराउँदै निमर्ममतापूर्वक हत्या गरेका थिए । ती सत्ताधारीहरु कसरी गणतन्त्रको पहरेदार हुन सक्छन् ?
वास्तवमा गणतन्त्र दिवस त जनयुद्धको क्रममा भएका घाइते, अपांग, सहिद र बेपत्ता परिवारले मनाउन पाउने स्थिति हुनु पर्दथ्यो, तर त्यो हुन सकेको छैन । आज ती सहिद, वेपत्ता योद्धाका परिवारलाई थाहै नदिई गणतन्त्र विरोधीहरुले बन्द काला कोठरीहरुमा बसेर जाँडपानी गर्दै गणतन्त्र दिवस मनाइरहेका छन् ।वास्तवमा शाहीतन्त्रको त्यो कठोर दमनलाई नेपाली जनताले साथ नदिएका कारण अन्ततः नेपालमा गणतन्त्र आयो । तर, आजको दिनलाई सम्झनुपर्दा गणतन्त्र दिवस कसले मनाउने र कसरी मनाउने भन्ने गंभीर प्रश्न हाम्रो अगाडि खडा भएको छ ।
नेपाली जनताको आफ्नै सरकार थियो भने आज वेपत्ता, सहिद परिवार र घाइते योद्धाहरुलाई सम्मान गरेर गणतन्त्र दिवस मनाउनु पर्दथ्यो । सरकारले जनयुद्धका सहिद र वेपत्ता परिवारलाई राष्ट्रिय सम्मान दिन सक्नुपथ्र्यो । त्यो हुन सकेको छैन । जसको त्याग र बलिदानबाट गणतन्त्र आयो आज तिनै योद्धाहरु र उनको परिवारलाई जनयुद्धको मुद्दा उल्टाएर जेल हाल्न खोजिँदै छ ।
जसले गणतन्त्र प्राप्तिको लागि लडेको थियो आज उसको घरमा सरकारले वारेसी टाँसिरहेको छ । यसले के दर्शाउँछ भने नेपालमा अझै जनताको वास्तविक गणतन्त्र आएको छैन । यहाँ त एउटा राजतन्त्रको अवशान भएपनि अरु थुप्रै छोटे राजाहरुको जन्म भएको छ । जसले नेपाली जनतालाई थप पीडा मात्र दिइहरेको छ ।
२००७ सालमा जहाँनिया राणाशासनका विरूद्ध नेपाली कांग्रेसले हतियार उठाएर सशस्त्र संघर्ष गरेपश्चात नेपालमा प्रजातन्त्र आयो । तर, नेपाली कांग्रेसले नै अहिले आएर गणतन्त्रको घाँटी रेट्ने काम गरिरहेका छ । त्यसपछि २०१९ सालको आन्दोलन, २०२८ सालको झापा विद्रोह जुनबेला त्यो बेलाका मालेले नयाँजनवादी गणतन्त्र स्थापनाको नारा दिएको थियो तर विस्तारै उनीहरु दरबारसँग आत्मसमर्पण गर्न आइपुगे ।
त्यस्तै ०४६ सालको जनआन्दोलन पनि कांग्रेस एमालेका नेताहरुको सम्झौतावादी रुझानका कारण नेपाली जनताको वास्तविक परिवर्तनको चाहना पूरा हुन सकेन । उनीहरुले सम्झौतामा लगेर जनआन्दोलनलाई टुंग्याइदिए । कांग्रेस एमालेसहितका दलले नेपाली जनताको पक्षमा हुने वास्तविक संविधान निर्माणका लागि जनआन्दोलनलाई तार्किक निश्कर्षमा पु¥याउनु पर्दथ्यो, जुन भएन ।
तत्कालिन संसदवादी पार्टी कांग्रेस–एमालेले विश्वको उत्कृष्ट प्रजातान्त्रिक संविधान भनेपनि त्यो संविधान जनविरोधी बन्न पुग्यो । जसका कारण नेपालमा जनयुद्ध हुन पुग्यो । यी सबै आन्दोलनहरु नेपाली जनताको पक्षमा भएपनि आन्दोलनका नेतृत्वकारी नै परिवर्तनको विरुद्धमा गएपछि ती अर्को आन्दोलन सुरु हुन पुग्यो । त्यो आन्दोलन महान् १० वर्षे जनयुद्धको रुपमा परिणत हुन पुग्यो । त्यसको मुल नेतृत्व प्रचण्ड–बाबुराम थिए । तर उनीहरु पनि आज कांग्रेस एमालेकै बाटोमा पुगे । हिजो उनीहरु जनताको पक्षमा, गणतन्त्रको पक्षमा थिए भने आज गणतन्त्र विरोधी, जनता विरोधी भएका छन् ।
अन्तमाः नेपाली जनताले खोजेको गणतन्त्र अझै स्थापना भएको छैन । एउटा राजाको अवशान भएपनि अझै थुप्रै छोटे राजाहरुको अवशान हुन बाँकी छ । त्यसकारण नेपाली जनताले अझै ठूलो युद्ध छेड्नुपर्ने स्थिति हाम्रो अगाडि आएको छ ।
सहिद, बेपत्ता परिवार र घाइते योद्धाहरुले निराश नभइ उज्यालो भविष्यका लागि एकीकृत जनक्रान्तिमार्फत् मात्र साँचो अर्थमा जनताको गणतन्त्र प्राप्त हुन्छ भन्ने आशाका साथ अघि बढौं । यही नै नवौ गणतन्त्र दिवसको शुभकामना ।
– See more at: http://janapati.com/archives/9077#sthash.HdpTGHk3.dpuf