काठमाडौंमा ११ रोपनी सरकारी जग्गा हडप्ने श्रेष्ठ पाँच वर्षपछि पक्राउ

काठमाडौंमा ११ रोपनी सरकारी जग्गा हडप्ने श्रेष्ठ पाँच वर्षपछि पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १८ माघ २०७३
  • 8.5K
    Shares

महानगरीय प्रहरी अपराध महाशाखा

प्रहरीले काठमाडौं भित्रकै मुल्यवान सरकारी जग्गा नक्कली कागजपत्र बनाएर हडप्ने एकजना फरार अभियुक्तलाई पाँच वर्षपछि पक्रेको छ। प्रहरीले अदालतले चारवर्ष कैद र चालिस लाख रुपैयाँ जरिवाना तोकेका अभियुक्त कृष्णबहादुर श्रेष्ठलाई पाँचवर्ष पछि पक्रेको हो।

केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौं बालुवा गाबिसमा रहेको ११ रोपनी साता आना सरकारी जग्गा किर्ते गरि आफ्नो नाममा नामसारी गर्ने कसुर ठहर भएका श्रेष्ठलाई पक्रेको हो । श्रेष्ठ काठमाडौं जिल्ला अदालतले सरकारी छाप दस्तखत किर्ते तथा ठगी मुद्दामा २०६८ पुस २१ गते ४ बर्ष कैद र चालिस लाख २० हजार जरिवाना ठेकेका फरार अभियुक्त हुन।

यस्तो छ घटना

ब्युरोका अनुसार २०६७ मा बालुवा गाबिस वडा नं. ८(ख) मा रहेको नेपाल सरकारको स्वामित्वमा रहेको कित्ता नम्बर ५२ को तीन रोपनी तीन आना र कित्ता नम्बर १०६ को आठ रोपनी चारआना जग्गा मालपोत कार्यालयका कर्मचारीको सहयोगमा श्रेष्ठले आफ्नो नाममा नामसारी गरेका थिए। श्रेष्ठले नेपाल सरकारको हक स्वामित्व मेटाई किर्ते जग्गा धनी प्रमाणपत्र बनाएर मोठ श्रेस्ता समेत सच्याई सो जग्गा आफ्नो नाममा नामसारी गरेको ब्युरोले जनाएको छ ।

ब्युरोका प्रमुख डिआइजी नवराज सिलवालले तत्कालिन अवस्थामा सरकारी मोल चालिस लाख भन्दा बढि रहेको उक्त जग्गा श्रेष्ठले डबल गुरुङ्ग सहित आधा दर्जन ब्यक्तिबाट बैना रकम उठाएर ठगी गर्न खोजे पछि पक्राउ परेका थिए । सिलवालले श्रेष्ठले जग्गा खरिदगर्ने ब्यक्ति र  नेपाल सरकारलाई ठगी गरेको भन्ने सरकारी छाप दस्तखत किर्ते तथा ठगी मुद्धामा श्रेष्ठको कसुर ठहर भई फैसला भएको बताए।

ब्युरोले शनिबार गोकर्णबाट पक्राउ गरेका श्रेष्ठलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा  अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाईएको जनाएको छ।

प्रतिक्रिया