पोखरा, १२ भदौ २०८३।
सिभिल सहकारी ठगी मुद्दामा सहकारीका सञ्चालक इच्छाराज तामाङसहित १७ जना दोषी ठहर भएका छन्।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश कृतबहादुर बोहराको इजलासले तामाङसहित १७ जनालाई ठगीसम्बन्धी कसुरमा दोषी ठहर गरेको हो। अदालतले उनीहरूविरुद्धको संगठित अपराधसम्बन्धी कसुरमा भने सफाइ दिएको छ।
दोषी ठहर हुनेमा इच्छाराज तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हरिहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद रिसाल, सिर्जना शाक्य तामाङ, लालकाजी गुरुङ र मिना गुरुङ रहेका छन्।
अदालतको आदेशमा प्रतिवादीहरूले मुलुकी ऐनको ठगीसम्बन्धी व्यवस्थाका साथै हाल प्रचलित मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ अन्तर्गतको ठगीसम्बन्धी कसुर गरेको ठहर गरिएको उल्लेख छ।
अदालतले दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारणका लागि २०८३ भदौ २५ गते पेसी तोकेको छ। उक्त सुनुवाइपछि उनीहरूलाई हुने कैद तथा जरिवानासहितको सजाय टुंगो लाग्नेछ।
अदालतले सजाय निर्धारणअघि दुवै पक्षबाट आवश्यक सजायपूर्वको प्रतिवेदन पेस गर्नसमेत आदेश दिएको छ।
यससँगै सिभिल सहकारी ठगी प्रकरणमा लामो समयदेखि चल्दै आएको मुद्दाको दोषी ठहरसम्बन्धी चरण पूरा भएको छ। अब भदौ २५ गते हुने सुनुवाइबाट दोषी ठहर भएका १७ जनालाई कस्तो सजाय हुने भन्ने निर्णय हुनेछ